वेबटिभी खबर
दमास्कस । सिरियाली राष्ट्रपति निर्वाचनमा बसर अल असद लगातार चौथोपटक विजयी भएका छन् ।
बुधबार भएको निर्वाचनमा असदले ९५ दशमलव १ प्रतिशत मत जितेका छन् । उनका प्रतिद्वन्द्वी महमद अहमद मारी ३ दशमलव ३ र अर्का अब्दुल्ला सालम अब्दुल्लाले १ दशमलव ५ प्रतिशत मत प्राप्त गरे । उनको कार्यकाल सात वर्षको हुनेछ । उनले यसअघि सन् २०१४ मा भएको निर्वाचनमा ८८ प्रतिशत मत ल्याएकोमा यसपटक भने त्यो भन्दा पनि बढी मत ल्याएका छन् ।
निर्वाचनको नतिजापछि पश्चिमी देशहरुले निर्वाचन निष्पक्ष र स्वतन्त्र नभएको बताएका छन् । अमेरिका तथा युरोपेली मुलुकहरुको प्रतिक्रियाले आफूलाई अलिकति पनि प्रभाव नपार्ने असदले यसअघि नै बताइसकेका थिए ।
दमास्कसमा आफ्नो मत दिइसकेपछि असदले भने, 'सिरियामा उनीहरूले जे बेच्ने कोशिस गरिरहेका छन् यो त्यस्तो देश होइन, जहाँ गृहयुद्ध भइरहेको छ, एक सहर अर्कोसँग लडिरहेको छ, एउटा समुदाय अर्को समुदायको शत्रु हो । सिरियाली जनता एकजुट छन भनेर आज आज हामी चुनावद्वारा प्रमाणित गर्दैछौं ' ।
उनले बुधबार दमास्कसनजिकै रहेको क्षेत्रमा मतदान पछि यस्ताे भनाइ राखेका हुन् । कुनै समय विद्रोहीहरूको कब्जामा रहेको यस क्षेत्र सन् २०१८ मा सिरियाली सेनाले फेरि फिर्ता लिएको थियो । त्यहाँ रसायनिक आक्रमण भएको आरोप पनि लगाइएको थियो ।
विगत दशकमा सन् २०११ बाट सुरू भएको द्वन्द्वले सिरियामा ठूलो क्षति पुग्यो । सिरियामा केही वर्षअघि देखि नै राष्ट्रपति असदका विरुद्धमा आन्दोलन चर्किएको थियो । सरकारले आन्दोलन दबाउन निकै प्रयास गर्यो । जारी आन्दोलनमा भएका हिंसामा त्यहाँ तीन लाख ८८ हजार मानिसको ज्यान गएको छ, धेरै मानिसहरु विस्थापित भएका छन् र अझै ६० लाखबढी बाहिरी देशमा शरणार्थीको रुपमा छन् ।
सिरियाली राष्ट्रपति निर्वाचन सरकारले नियन्त्रित क्षेत्रहरूमा र विदेशका केही सिरियाली दूतावासहरूबाट गर्यो । देशभित्र र बाहिर गरेर एक करोड ८० लाख मतदाता निर्वाचनमा सहभागी हुने भनिएको थियो । विद्रोहीको नियन्त्रणमा रहेको इदलिबमा भने निर्वाचनको विरोधमा ठूलो प्रदर्शन भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij