वेबटिभी खबर
किन्सासा । नर्वेको शरणार्थी काउन्सिल (एनआरसी) ले विश्वका सबैभन्दा उपेक्षित १० विस्थापन संकटको वार्षिक सूचकांक सार्वजनिक गरेको छ । यसमा प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी) मा विश्वमै सबैभन्दा बढी बेवास्ता गरिएको विस्थापित जनसंख्या रहेको उक्त शरणार्थी काउन्सिलले बताएको छ ।
यसको वार्षिक सूचकांक सार्वजनिक गर्दै सहायता एजेन्सीले बिहीबार डिआरसीमा एक वर्षको अवधिमा २० लाख मानिस विस्थापित भएको जानकारी दिएकाे छ । योसँगै १० लाख बालबालिकासहित दुई करोड ७० लाख जनसंख्या खानेकुराको चरम अभावले गम्भीर भोकमरीको सामना गर्नुपर्ने स्थितिमा छन् ।
'डिआरसी २१ औं शताब्दीको सबैभन्दा खराब मानवीय संकटहरू मध्ये एक हो', एनआरसीका महासचिव जान इजल्यान्डले भने, 'हिंसा, खाद्य अभाव र पूर्ण उपेक्षाको घातक संयोजनले निम्त्याएकाे ठूलो संकटले त्यत्तिकै परिमाणमा सहायताको अपेक्षा गरेको छ । तर गहिरो खाडलको किनारमा रहेका लाखौं परिवारहरू बाहिरी संसारले बिर्सेजस्तो देखिन्छ ।'
त्यहाँकाे पूर्वी क्षेत्रमा धेरै हिंसा र द्वन्द्वका कारण दैनिक ६ हजार मानिस विस्थापित भइरहेका छन् । याे युद्धले सिर्जना गरेकाे विश्वमै सबैभन्दा ठूलाे विस्थापन संकट हाे । यस्तै, बुरुन्डीमा कोरोना महामारीले पारेको सामाजिक आर्थिक प्रभाव, जलवायु परिवर्तनले बढेको जोखिम, सन् २०२० मा फर्केका शरणार्थी र अन्तर्राष्ट्रिय समुदायको सीमित सहयोगका कारण त्यहाँ विस्थापित हुनेको संख्या बढेको हो ।
यी जस्तै अन्य देशहरूमा पनि विस्थापित हुनेहरूकाे संख्या बढ्दाे छ । विश्वका १० वटा सबैभन्दा बेवास्ता गरिएका विस्थापन संकटहरूको सूचीमा धेरै अफ्रिकी देशहरु छन् । यसमा पहिलो स्थानमा कंगो त्यसपछि क्यामरून, बुरुण्डी, भेनेजुएला, होन्डुरस, नाइजेरिया, बुर्किना फासो, इथियोपिया, मध्य अफ्रिकी गणराज्य र माली रहेका छन् ।
एनआरसीका अनुसार कोरोना भाइरसको महामारीले जोखिममा रहेका जनसंख्यालाई झन् चरम संकटतर्फ धकेलेको छ । उनीहरुको थोरै आम्दानी पनि महामारीका कारण हरायो । यसले मानवीय आवश्यकता अत्यधिक वृद्धि भयो तर त्यही समयमा अन्तर्राष्ट्रिय सहयोग पनि बन्द हुन पुग्यो ।
युद्ध, जलवायु परिवर्तन, राजनीतिक अस्थिरता, महामारी, प्राकृतिक प्रकोपको चपेटामा परेर वासस्थान, आम्दानीको स्रोत गुमाउनु परेकाले विस्थापित हुने व्यक्तिको संख्या विश्वकै लागि महामारीभन्दा ठूलो संकट हो तर पनि विस्थापनलाई कसरी रोक्ने भनेर अभ्यास भएका छैनन् ।




Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij