वेबटिभी खबर
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयमा ‘एक प्रदेश, एक कम्प्युटर ल्याब’ स्थापना गरिएको छ ।
२०२१ मा कोलम्बस म्याराथन गरेका ओम दाहालको नेतृत्वमा अमेरिकामा रहेका नेपालीको संस्था एशोसिएशन अफ नेपलिजइन मिडवेष्ट अमेरिका (आन्मा)को सहयोगमा संकलन गरिएको सहयोग रकमबाट उक्त विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको हो ।
कोलम्बस म्याराथनको अभियान ‘एक प्रदेश एक कम्प्युटर ल्याब’अन्तर्गत अमर माविसहित देशका विभिन्न १० सरकारी विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको अभियान्ता दाहालले बताए ।
दाहालका अनुसार १० वटा कम्प्युटर ल्याब स्थापनाका लागि तीन सय आठ सहयोगदातामार्फत ३८ लाख चार सय ४४ संकलन भएको थियो । अमर माविको ल्याब स्थापनामा कार्यसमिति सदस्य सन्दिप सिंहले मात्रै तीन हजार अमेरिकी डलर सहयोग गरेका थिए।
विद्यालयमा आयोजित कार्यक्रममा समन्वयकर्ता कमला दाहाल र संस्थाका नेपाल प्रतिनिधि कुन्दन शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर बुढा र प्रधानध्यापक पृर्थबहादुर थापालाई १० थान कम्प्युटर, एक सेट प्रोजेक्टर र एक थान प्रिन्टर प्रदान गरेका थिए ।
उक्त कम्प्युटर ल्याबको नाम मुख्य सहयोगदाता सन्दिप सिंहकै नामबाट नामाकरणसमेत गरिएको छ । समन्वयकर्ता कमला दाहालले ग्रामीण भेगमा रहेको विद्यालयमा कम्प्युटर ल्याब स्थापना भएपछि आधुनिक सूचना प्रविधिकको पहुँच र प्रयोगबाट विद्यालयका शैक्षिक प्रगति र विद्यार्थीलाई कम्प्युटर शिक्षा लिन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उक्त विद्यालयले २०६७ सालदेखि नै कम्प्युटर विषयको पठनपाठन सञ्चालन गर्दै आएको थियो । काठमाडौंस्थित चिमखोले सहयोग समितिबाट प्राप्त भएका कम्प्युटरमार्फत पठनपाठन सुरु गरिएपनि पछिल्लो समय पुराना कम्प्युटर जीर्ण भएकाले आन्मा संस्थामार्फत ल्याब स्थापना भएपछि राहत भएको विद्यालयले जनाएको छ ।
एक सय ३० विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा कक्षा ५ देखि १० सम्म कम्प्युटर विषयको पठनपाठन हुँदै आएको छ । विद्यालयमा दिवंगत सुवेदार नरजङ पुनको नाममा क्याप्टेन पदमबहादुर पुन र क्याप्टेन लोकबहादुर पुनको परिवारले कम्प्युटर कक्ष निर्माण गरिदिएका थिए ।
आन्मा संस्थाले म्याग्दीको अमरमाविसँगै बैतडीमा दुई, दैलेखमा दुई, प्यूठानमा एक, सिन्धुपाल्चोकमा एक, सप्तरीमा एक, तेह्रथुममा एक र इलाममा एक सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिसकेको जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij