Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

जीर्ण झोलुङ्गे पुल पुनः निर्माण गर्न माग

जीर्ण झोलुङ्गे पुल पुनः निर्माण गर्न माग

  • 299
    SHARES
  • जीर्ण झोलुङ्गे पुल पुनः निर्माण गर्न माग

    रसुवा । लाङटाङ जाने पर्यटकीय पदमार्गको झोलुङ्गे पुल जीर्ण भएकाले पुनःनिर्माण गरिदिन स्थानीयवासीले संघीय सरकारसंग माग गरेका छन् ।

    २०७२ को गोरखा भूकम्पले सो पदमार्ग अन्तर्गत गोसाइँकुण्ड गाउँपालिकास्थित दोमेन खोलाको झोलुङ्गे पुललाई समेत क्षति पुर्‍याएको थियो । तत्काल आवागमन सञ्चालन गर्न निजी स्तरबाट काठेपुल निर्माण समेत गरिएको थियो ।

    पछिल्लो समय सो काठेपुलसमेत जीर्ण भइसकेका स्थानीयवासीले जनाएका छन् । हिमाली पदयात्राको लागि हजारौं पर्यटक लाङटाङ जाने गर्दछन् । स्थानीयवासीले थाङसेप माथि छार्तिङ खोलामा समेत झोलुङ्गे पुल निर्माण गरिदिन माग गरिएका छन् ।

    सो स्थानमा भूकम्पको असरले हिमपहिरो आउँदा झोलुङ्गे पुल बगाइ पर्यटक आवागमनमा असर परेको जनाइएको छ ।

    स्याफ्रुबेँसीदेखि खोलाको तिरैतीर लाङटाङ जाने १८ किलोमिटर पदमार्गअन्तर्गतका भागमा पर्ने झोलुङ्गे पुल निर्माणको साथसाथै पदमार्गसमेत मर्मत एवम् पुनःनिर्माण गरिदिन माग गरिएको गोसाइँकुण्ड गाउँपालिका-४ का वडाध्यक्ष डिण्डुप लामा ज्याङ्वाले बताए ।

    पदमार्ग सहज नहुँदा विशेष गरी वर्षायाममा पदयात्रीको ज्यानसमेत जोखिममा परिरहेको कारण सरोकारवाला निकायले समयमै ध्यान दिन स्थानीयद्वारा  आग्रह गरिएको उनले जानकारी दिए ।

    लाङटाङ जाने बृद्विम तर्फबाट खाम्जिङ, शेर्पागाउँ, रिम्चेतर्फको पुरानो बाटो भए पनि स्याफ्रुबेँसीदेखि खोला तिरतिरैतर्फकै पदमार्ग बढी प्रयोगमा आउने गरेको छ ।

    नेपालको तेस्रो पर्यटकीयस्थलको रूपमा मानिएको लाङटाङ पदमार्गको विकासका लागि नेपाल पर्यटन वोर्डलगायत सरोकारवाला निकायले विशेष कार्यक्रम ल्याई पर्यटन विकासको प्रवर्द्धनमा सहयोग गरिदिन लाङटाङका बासिन्दाले माग गरेका छन् ।

    लाङटाङ पदयात्रामा जाने पर्यटकका लागि हिमालबाट हिउँ पग्लेर छ्याङछ्याङ गर्दै झरेको लाङटाङ खोलाको झर्ना, ठाउँ-ठाउँमा बनेको ताल, भोजपत्र, ल्यारेक्स सल्लोलगायतका अनगिन्ती मिश्रण वनस्पति, सयौँ प्रजातिका चरा, फाट्टफुट्ट देखिने विविध प्रकारका जनावर, क्याङ्जेन भ्याली, मानव नजिक रहेको हिमनदी, यालापिक, गञ्जलालगायतका सम्पदाले मनमोहक बनाउने गरेको बताइएको छ ।

    यसैगरी पर्यटकका लागि खानेपानीको व्यवस्था, फोहरमैलाको उचित व्यवस्थापनको कार्यक्रमसमेत सञ्चालन गरिदिन लाङटाङका पर्यटन व्यवसायीले संघीय सरकारसंग आग्रह गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij