Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

म्याग्दीमा नयाँ प्रविधिको बीउ आलु 

म्याग्दीमा नयाँ प्रविधिको बीउ आलु 

  • 304
    SHARES
  • म्याग्दीमा नयाँ प्रविधिको बीउ आलु 

    म्याग्दी । जलजला गाउँपालिकाले नयाँ प्रविधिको बीउ आलु भित्र्याएको छ ।

    राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर प्रगतिशील ताजा तरकारी तथा बीउ उत्पादक कृषक समूहमार्फत वडा नं ६ को लाम्पाटा बराहटोलमा सामूहिक पूर्व मूलबीउ रोपिएको हो ।

    जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले आलुको गुणस्तरीय बीउ उत्पादन, उत्पादन क्षमता कम भएको पुरानो बीउ विस्थापित र बीउ आलुमा आत्मनिर्भर बनाउन पिविएम (पूर्व बीउ आलु) कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

    ‘जलजलाको धेरै भूगोलमा आलुखेती भए पनि वर्षौँदेखि एउटै बीउको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोगकीराको समस्या देखियो’, अध्यक्ष आचार्यले भने ‘गुणस्तरीय बीउ उत्पादन गरेर आलु उत्पादन र गुणस्तर सुधार गर्ने उद्देश्यले राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको पूर्व मूलबीउ भित्र्याइएको छ ।’

    गाउँपालिकाका कृषि अधिकृत राजुप्रसाद गौतमले नौ रोपनी क्षेत्रफलमा खुमल सेतो १, खुमल उज्वल, जनकदेव, खुमल रातो र कार्डनल जातको आलुको ५३ हजार दुई सय दाना रोपिएको बताए ।

    अहिले लगाएको बीउ पाँच पुस्तापछि खायन (खानका लागि बीउ रोप्न) योग्य हुन्छ । हाल यहाँका कृषकले करिब ५० वर्ष पुरानो बीउ प्रयोग गर्दै आएका थिए । बीउ आलुमा आत्मनिर्भर कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख विनियोजन गरेको छ ।

    चिहानकाटे, लाम्पाटा र रात्माटामा ८८ बोरा दोस्रो पुस्ताको बीउ आलु रोपिएको छ । दोस्रो पुस्ताको बीउ आलु कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । कृषकहरूलाई लगाउने ज्याला उपलब्ध गराउने र प्रतिकिलो २५ देखि ३० का दरले खरिद गर्ने सम्झौता भएको छ ।

    अहिले लगाएको पुर्व बिउ आलु उत्पादन भएपछि कृषकहरूबाट गाउँपालिकाले खरिद गरेर चिस्यानगृहमा राख्ने र पहिलो पुस्ताको बिउ उत्पादन गर्न कृषकहरूलाई उपलब्ध गराउने जनाएको छ ।

    पुर्व बिउ आलु रोप्न शनिबार गाउँपालिकाका अध्यक्ष आचार्य, कार्यपालिकाको कृषि संयोजक हरिविकास जिसीले कृषकहरूसँगै श्रमदान गरेका थिए । राष्ट्रिय आलु विकास कार्यक्रमका प्राविधिक रमेश खतिवडाले भाइरस र रोगमुक्त पुर्व बिउ आलु रोपिएको बताए।

    ‘पुर्व बिउ आलु पाँच सय दाना बराबर ७५ केजी उत्पादन हुन्छ,’ उनले भने, ‘कृषकले बजारबाट खरिद गरेको बिउको गुणस्तर राम्रो नहुँदा रोग भित्रिएको, उत्पादन र गुणस्तर घटेको हो ।’

    आलु बिउ उत्पादनमा चासो देखाउने देशका सिमित स्थानिय तह मध्यमा जलजला रहेको प्राविधिक खतिवडाले बताए । प्रगतिशिल कृषक समूहका अध्यक्ष बाबुराम रेग्मीले धेरै वर्षदेखि एउटै विउ लगाउँदा उत्पादन र गुणस्तर घटेपछि आफै विउ उत्पादन गर्न गाउँपालिकासँग साझेदारी गरिएको जानकारी दिए ।

    उत्पादन भएको सबै बीउ गाउँपालिकाले खरिद गरिदिने सम्झौता भएकाले बीउ आलुलाई बजारको समस्या नहुने भएकाले उत्साही भएको प्रेमप्रसाद भुसालले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij