वेबटिभी खबर
कञ्चनपुर । लालझाडी गाउँपालिका-४ मा एक करोडको लागतमा बर्थिङ सेन्टर निर्माण कार्य थालिएको छ ।
संघीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत बर्थिङ सेन्टर निर्माण भइरहेको हो । निर्माण सुरु गरिएको बर्थिङ सेन्टर दुई तलाको हुने वडाध्यक्ष बहादुर रानाले जानकारी दिए ।
‘तल्लो तलामा सुविधासम्पन्न बर्थिङ सेन्टर रहन्छ’,वडाध्यक्ष रानाले भने, ‘दोस्रो तलामा स्वास्थ्यकर्मीका लागि आवास निर्माण हुन्छ ।’ चालु आर्थिक वर्षभित्रै बर्थिङ सेन्टर निर्माणकार्य पूरा हुने उनको भनाइ छ ।
‘निर्वाचित भएर आएपछि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्यायौँ, केन्द्रमै बर्थिङ सेन्टर सञ्चालन गरेका छौँ, स्वास्थ्यकर्मीदेखि आवश्यक ठाउँ र सामग्रीको अभाव छ’, उनले भने, ‘सुविधासम्पन्न बर्थिङ सेन्टरका लागि भवन निर्माण भएपछि सहज हुन्छ ।’
विगतमा बर्थिङ सेन्टर नहुँदा सुत्केरी हुने महिलाले पाँच किलोमिटर टाढाको देखतभुली स्वास्थ्यचौकी पुग्नुपर्ने बाध्यता थियो ।
‘प्रसूति हुने महिलालाई स्वास्थ्यचौकी पुर्याउनै निकै समस्या थियो’, स्थानीय लक्ष्मण रानाले भने, ‘स्वास्थ्यचौकी नपुग्दै महिलाले बीच बाटोमै जोखिम मोल्दै सुत्केरी हुन्थे, गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि महिलाले बीच बाटोमै बच्चा पाउनुपर्ने बाध्यता हट्ने भएको छ।’
देखतभुली स्वास्थ्यचौकी पुग्नका लागि गाउँको बीचमा नदी तर्नुपर्ने बाध्यता रहेको छ । रामकुमारी रानाका अनुसार वर्षात्का बेला नदीमा बाढी आएका बेला सुत्केरी हुने महिलालाई काँधमा बोकेर लैजानुपर्ने अवस्था थियो ।
बाढीका कारण नदी तर्न नसकेर सुत्केरी हुने महिलालाई घरमै फर्काएर ल्याउने गरिएको थियो भने बर्थिङ सेन्टर निर्माण हुन थालेपछि विगतका दुःखका दिनको अन्त्य हुने भएको उनको भनाइ छ ।
बर्थिङ सेन्टर निर्माण भएपछि लालझाडी गाउँपालिका-४ का एक हजार घरघुरी र शुक्लाफाँटा नगरपालिका-१२ का चार सय घरघुरी लाभान्वित हुने भएका छन् । दुवै पालिकाका वडामा आदिवासी जनजाति थारू समुदायको बाहुल्यता रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij