वेबटिभी खबर
जुम्ला । तिला गाउँपालिकाले पालिकाभित्रका महिलालाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने अभियान थालेको छ ।
गाउँपालिका नौवटै वडाका महिलालाई च्याउखेती, खरायोको टोपी र सिलाइकटाइ जस्ता सीपमूलक तालिम दिएको र अनुगमनलाई पनि विशेष जोड दिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए ।
गत मंसिर २५ गतेदेखि सुरु भएको एक महिने ढाका बुनाइसम्बन्धी पुनर्ताजकीय सीप विकास तालिम यहाँका महिलालाई दिएको पालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन् ।
‘आत्मनिर्भरका तालिमलाई महिला केन्द्रित गरेर सञ्चालन गरेका छौँ’, उपाध्यक्ष बुढाले भनिन्, ‘पालिकाका नौवटै वडाका १६ महिलालाई ढाका बुनाइ तालिम दिएर पठाएका छौँ । उनीहरूले राम्रोसँग सीप सिकेर गएका छन् ।’
उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्ला र तिला गाउँपालिकाको साझेदारीमा तालिम दिएको उपाध्यक्ष बुढाको भनाइ छ । तिलाका महिलाई आत्मनिर्भर गर्नका लागि सो तालिम दिएको उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटा बताए ।
तालिमबाट सिकेका सीपलाई व्यवहारमा लागू गर्न अतिआवश्यक रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालको भनाइ छ ।
तालिमका सहभागी शान्ति बुढाले पालिकाले दिएको सीपमूलक तालिमलाई कार्यान्वयन गर्ने हाम्रो जिम्मेवारी भएकाले अझै यहाँका महिलालाई विभिन्न प्रकारका आत्मनिर्भरका सीपमूलक तालिम दिन पालिकालाई आग्रह गरिन् ।
तिलावासीका नागरिकसँग अध्यक्ष तथा उपाध्यक्ष कार्यक्रम सञ्चालन गर्नका लागि बजेट तथा कार्यक्रमबाट पारित भएकाले यहाँका नागरिकको अपेक्षाअनुसार काम गरिने तिला गाउँपालिकाले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij