वेबटिभी खबर
काठमाडौं । बाँकेको नेपालगञ्जमा दादुराका बिरामीको संख्या आज दिउँसोसम्म ८० जना पुगेका छ । दादुराका २८ प्रतिशत बिरामीले दादुराविरूद्धको खोप प्रयोग नगरेको पाइएको छ ।
परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार ८० बिरामीमध्ये खोप नलिने २३ जना रहेका छन् । खोपको एकमात्रा लिने ३३ र दुई मात्रा लिने १२ बिरामी छन् भने १२ बिरामीबारे कुनै जानकारी छैन ।
प्रमुख दाहालले दादुराविरूद्धको खोपप्रतिको सचेतना अभावका कारण खोप प्रयोग नगर्दा प्रकोप फैलिएको बताए । प्रमुख दाहालले भने, ‘कूल बिरामीको संख्यामा २८ प्रतिशत बिरामीले खोप लगाएका छैनन्, खोप लगाउनु हुँदैन भन्ने समुदायको धारणाले उहाँहरू खोपबाट बञ्चित भएको देखिएको छ ।’
उनले आजदेखि खोप लगाउने काम सुरु भएकोसमेत जानकारी दिए । ‘प्रकोप फैलिएपछि सबैको ध्यानार्कषण भएको छ, धर्मगुरु र समुदायसँग बसेर आइतबार छलफल भएको थियो, उहाँहरूले भनेको स्थानमा आजदेखि खोप लगाउन सुरु गरिएको छ’, प्रमुख दाहालले भने ।
हरेक वर्ष केही प्रतिशत बालबालिका पूर्ण मात्राको खोप लगाउन छुटेका छन् । खोपको कभरेज धेरै देखिए पनि खोप नलगाएको असुरक्षित समूह बढ्दै जाने असुरक्षित समूह धेरै भएपछि दादुरा प्रकोपका रूपमा देखिने गरेको उनको भनाइ छ ।
बाँकेमा खोपको स्थितिलाई हेर्दा आर्थिक वर्ष २०७८/७९ मा दादुराविरूद्धको पहिलो मात्रा लगाउने ९८ प्रतिशत छन् भने दोस्रो मात्रा लगाउने ९५ प्रतिशत छन् । आव २०७७/७८ मा दुवै मात्रा खोप लगाउने ९२ प्रतिशत छन् ।
आव २०७६/७७ मा ९० प्रतिशतले पहिलो मात्रा र दोस्रो मात्रा लगाउने ७९ प्रतिशत छन् । नेपाल जनसंख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को अध्ययनले २०२२ मा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको देखाएको छ ।
सन् २०१६ मा खोपबाट बञ्चित हुने बालबालिको संख्या एक प्रतिशत मात्र देखिएको छ । गत पुस १२ गते नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं-५ मा दादुराका पहिलो बिरामी देखिएका थिए ।
दादुराका लक्षण देखिएका १५ बिरामीमध्ये पाँच को नमूना परीक्षण गरेपछि दादुरा पुष्टि भएको हो । वडा नं-५ बाट सुरु भएको दादुराको संक्रमण वडा नं-७, ८, ९, १०, ११, १५ र २२ मा देखिएको छ ।
आइतबारसम्म उपमहानगरका १० वडा र खजुरा गाउँपालिकाको वडा नं-२ मा दादुराका बिरामी फेला परेका थिए । सबैभन्दा धेरै बिरामी उपमहानगरपालिकाको वडा नं-८ मा २८ र वडा नं-७ मा २५ जना रहेका छन् ।
वडा नं-९, १०, ११, १५ र २२ मा १० बिरामी भेटिएका हुन् । पाँच महिनाका बालबालिकादेखि ६५ वर्ष उमेर समूहकामा दादुराका बिरामी छन् । दादुराका कारण एक बिरामीको मृत्यु भइसकेको जनाइएको छ ।
दादुराका बिरामीलाई फोक्सो र कानको समस्यादेखि अपांगतासम्म हुनसक्छ । यसबाट मृत्युको समेत जोखिम हुने गर्छ । सम्भावित स्वास्थ्य जटिलता कम गर्न शिविरमार्फत तत्काल उपचारको व्यवस्था गरिएको छ ।
प्रभावित क्षेत्रमा केन्द्रबाट बालचिकित्सक, विश्वस्वास्थ्य संगठन र युनिसेफको समूह खटिएको छ । दादुराका बिरामी पत्ता लगाउने, शिविर खडा गरेर खोज्ने क्रम जारी छ ।
डा.दाहालका अनुसार दादुराको महामारी नियन्त्रण गर्न बिरामी पत्ता लगाउने र तत्काल उपचार गर्ने, बिरामीलाई भिटामिन ‘ए’ दिने, आइसोलेनमा राख्ने तथा खोप लगाउने काम भइरहेको छ ।
संक्रमण नियन्त्रण गर्न दुई हप्ता विद्यालय बन्द गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । धुलिखेल अस्पतालले आगामी दिनमा सो क्षेत्रका समुदायमा खोपप्रतिको गलत बुझाइ र सचेतना बढाउन अहिले अध्ययन टोलीसमेत खटाएको छ ।
स्वास्थ्यकर्मीले उपमहानगरपालिकालाई झण्डै दुई साता विद्यालय बन्द गर्न सुझावसमेत दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij