Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

क्रिकेट मैदानको निर्माण काम अलपत्र अवस्थामा

क्रिकेट मैदानको निर्माण काम अलपत्र अवस्थामा

  • 381
    SHARES
  • क्रिकेट मैदानको निर्माण काम अलपत्र अवस्थामा

    कञ्चनपुर । दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा क्रिकेट मैदान निर्माणको काम अघि बढाइए पनि अहिले अलपत्र अवस्थामा छ ।

    अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थाले पनि अहिले बजेटलगायतका कारणले निर्माण अघि बढेको छैन ।

    क्षेत्रीय खेलकुद विकास समितिका इञ्जिनीयर केशवप्रसाद जोशीले ठेक्कामार्फत क्रिकेट मैदानमा पहिलो चरणमा माटो भरान र ‘चेञ्जिङ रुम’ मा ३९ लाख खर्च भएको बताए ।

    ‘त्यसपछि सोही आवमा ३३ लाखको माटो भरान उपभोक्ता समितिमार्फत पनि भयो’, इञ्जिनीयर जोशीले भने, ‘कभर्डहलमा मास्टर प्लानभन्दा बाहिर गएर धेरै संरचना बनेका कारण क्रिकेट मैदान बनाउनमा ठाउँको पनि समस्या रह्यो ।’

    दुई वर्षअघि एक करोड रकम क्रिकेट मैदानका लागि आए पनि त्यहाँ माटो भरानबाहेक अरु काम अघि बढ्न सकेको छैन । क्रिकेट मैदान निर्माणस्थलमै जिल्ला खेलकुद विकास समितिले माछा पोखरी निर्माणका लागि जग्गा ठेक्कामा दिँदा अहिले क्रिकेटमा आएको रकम पोखरी पुर्नमासमेत खर्च भएको देखिन्छ ।

    ‘क्रिकेट मैदान बनाउने ठाउँमा माछापोखरी विगतमा बनेकाले पोखरी भरानमै अनावश्यक खर्च भयो’, क्रिकेटका एक खेलाडीले भने, ‘माटो भरानमा लाखौँ खर्च भए पनि यहाँ निर्माण अघि बढाउन सरोकारवाला निकायको चासो देखिँदैन ।’

    उनले विगत लामो समयदेखि राष्ट्रिय टोलीमा कञ्चनपुरका खेलाडी पर्दै आए पनि गृह जिल्लामा क्रिकेट मैदान बनाउने विषयमा भने बेवास्ता हुँदै आएको जानकारी दिए । कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष वीरेन्द्र चन्दले निर्माणाधीन क्रिकेट मैदानको काम अहिले रोकिएको बताए ।

    ‘क्रिकेटका लागि मैदानलगायत संरचना बनाउने राष्ट्रिय खेलकुद परिषद्को आयोजना रहेपनि यसलाई प्राथमिकताका साथ अघि बढाउन आवश्यक छ’, अध्यक्ष चन्दले भने, ‘गत वर्षयता निर्माण कार्य अलपत्र जस्तै भएको छ ।’

    अध्यक्ष चन्दले गत वर्ष पनि ७५ लाख निर्माणका लागि बजेट आए पनि काम हुन नसक्दा रकम फ्रिज भएको जानकारी दिए । ‘चालु आवमा पनि ५० लाख रकम क्रिकेट मैदानका लागि विनियोजन भएको भन्ने छ’, उनले भने, ‘त्यो रकम आएपछि निर्माण प्रक्रिया अघि बढाउने छौँ ।’

    चन्दले माथिल्लो निकायबाट पुग्ने गरी बजेट विनियोजन गरेर निर्माणमा सहयोग गर्न आग्रहसमेत गरे । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले क्रिकेट मैदान निर्माणको काम क्षेत्रीय खेलकुदमार्फत हुँदै आएको बताए ।

    ‘अहिले निर्माणको काम अधुरो अवस्थामा छ’, प्रमुख भट्टले भने, ‘यो वर्ष यहाँ बहुउद्देश्यीय कभर्डहल निर्माणमा समेत प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ ।’ सुदूरपश्चिम प्रदेश सरकारले यहाँ बहुउद्देश्यीय कभर्डहल बनाउन चालु आर्थिक वर्षमा आठ करोड रकम विनियोजन गरेको खेलकुद विकास समितिले जनाएको छ ।

    ‘बहुउद्देश्यीय कभर्डहलको कूल लागत अनुमान २७ करोडको हो’, भट्टले भने, ‘चालु आवमा बजेट विनियोजन भएकाले नयाँ प्रदेश सरकार आएपछि उक्त काम अघि बढ्छ होला।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij