Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

राहुघाट जलविद्युत् आयोजनाको कामले गति लिँदै

राहुघाट जलविद्युत् आयोजनाको कामले गति लिँदै

  • 374
    SHARES
  • राहुघाट जलविद्युत् आयोजनाको कामले गति लिँदै

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ ।

    ठेकेदार कम्पनीको ढिलासुस्तीले अन्योलमा रहेको सो आयोजनामा पछिल्लो समय जनशक्ति, उपकरण र स्रोतसाधन परिचालनमा जोड दिएपछि निर्माणले गति लिएको हो ।प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको उक्त आयोजनाले करिब ६० प्रतिशत सुरुङ निर्माण सकिएको जनाएको छ ।

    राहुघाट जलविद्युतमा कुल ६ हजार २ सय ७० मिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेमा हालसम्म तीन हजार सात सय मिटर निर्माण सकिएको आयोजनाका योजना प्रबन्धक राजबहादुर विष्टले जानकारी दिए ।

    मासिक एक सय ८० मिटर सुरुङ निर्माण गर्ने योजनाअनुसार कामलाई गति दिएको विष्टको भनाइ छ । आयोजनाको आगामी एक वर्षभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने लक्ष्य रहेको छ ।

    अहिलेसम्म ४० प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको आयोजनामा सुरुङमार्गसँगै बाँध र विद्युतगृहतर्फको पूर्वाधार निर्माण धमाधम भइरहेको छ ।

    रघुगंगा गाउँपालिका-४ दग्नाम र ५ झिँको सिमानामा बाँध रहने उक्त आयोजनाको पानी बग्ने ठाउँ, पानी थिग्राउने स्थल, पावर इन्टेक, मुख्य सुरुङमार्गलगायत पूर्वाधार निर्माण भइरहेको विष्टले बताए ।

    वडा नं-३ पिप्लेको तिल्केनीचौरमा विद्युत्गृह रहने क्षेत्रमा पूर्वाधार निर्माण जारी छ । दैनिक झण्डै तीन सय मजदुर परिचालन गरिएको छ ।

    भारतीय आयात-निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्स (जेपी)सँग २०७४ मंसिरमा ठेक्का सम्झौता भएको थियो ।

    ठेक्का अवधि २०२२ फेब्रुअरीमा सकिएपछि २०२३ अगस्तसम्मका लागि पुनः म्याद थप भएको छ । अर्धजलाशययुक्त बाँध रहने यस आयोजनाले वार्षिक चौबीस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) गरेको थियो ।

    प्राधिकरणले १९९८ मा सम्भाव्यता अध्ययन गरेको यस आयोजनालाई २०७० मा नै सम्पन्न गर्ने गरी भारतीय ठेकेदार कम्पनी आइभिआरसिएल प्रोजेक्ट्स लिमिटेडले ठेक्का लिएको थियो ।

    आइभिआरसिएल कमजोर आर्थिक अवस्थाका कारण चार वर्षमा १० प्रतिशत पनि काम नगरी पन्छिएको थियो । यसअघि ३२ मेगावाट मात्र उत्पादन गर्ने गरी अघि बढाएको आयोजनाको क्षमता आठ मेगावाट बढाएर अहिले ४० मेगावाट पुर्‍याइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij