Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

एउटै भवनबाट उच्च अदालत र जिल्ला अदालतको सेवा

एउटै भवनबाट उच्च अदालत र जिल्ला अदालतको सेवा

  • 312
    SHARES
  • एउटै भवनबाट उच्च अदालत र जिल्ला अदालतको सेवा

    बाग्लुङ । सरासर पुनःनिर्माणको काम भए ३० महिनापछि उच्च अदालत पोखरा बाग्लुङ इजलासले सुविधासम्पन्न भवन पाउनेछ ।

    भूकम्पको चपेटामा परेको उक्त इजलासको भवन निर्माण थालिएपछि अहिले उच्च अदालतको सेवा बाग्लुङ जिल्ला अदातलबाटै दिन थालिएको हो ।

    २०७२ को भूकम्पले कमजोर बनाएको भवन भत्काएर सात वर्षपछि नयाँ भवन निर्माण गर्न थालिएकाले अहिले उच्च अदालतको सेवा जिल्ला अदालतकै भवनबाट दिन थालिएको हो । जिल्ला अदालतले आफ्नै भवन निर्माण गरेको जम्मा दुई वर्ष भयो ।

    भाडाको भवनबाट जिल्ला अदालतको सेवा दिँदै आइएकोमा सुविधासम्पन्न तीनतले पक्की भवन बनेपछि बाग्लुङ नगरपालिका-२ रुद्रेपिपलबाट आफ्नो सेवा दिइरहेको थियो ।

    एक महिनादेखि जिल्ला अदालतको भवनबाटै उच्च अदालतको सेवा दिन थालिएको उच्च अदालतका रजिष्ट्रार नेत्रप्रसाद भुसालले जानकारी दिए ।

    ‘मंसिरको २८ गते कायममुकायम प्रधानन्यायाशीश हरिकृष्ण कार्कीले उच्च अदालतको भवन पुनःनिर्माणका लागि शिलान्यास गर्नुभएको थियो, हामीले त्यसअघि नै उच्च अदालतको सेवा जिल्ला अदालतको दोस्रो तलाबाट दिन थालिरहेका थियौँ, न्याय सम्पादनमा  एक दिन पनि असर नपर्ने गरी उच्च अदालतको सेवा अहिले एक महिनादेखि जिल्ला अदालतबाट दिन थालेका छौँ भने आवासलाई भाडाको घरमा पुर्‍याएका छौँ’, रजिष्ट्रार भने, ‘जिल्ला अदालतको तीनतले भवनमाथि हामीले एक तला ट्रस्ट हालेका छौँ, पक्की भवनको दोस्रो तलासमेत हामीले प्रयोग गर्दै आएका छौँ, नागरिकले एउटै भवनबाट उच्च अदालत र जिल्ला अदालतको सेवा पाएका छन्, जिल्ला अदालतको भवन नयाँ र फराकिलो भएकाले सेवा दिनलाई कुनै समस्या छैन ।’

    रजिष्ट्रार भुसालका अनुसार ३० महिनाभित्रै उच्च अदालतको भवन पुनःनिर्माण सक्ने गरी अहिले धमाधम काम भइरहेको छ । अहिले उच्च अदालतको भवन निर्माणका लागि पुरानो जीर्ण भवन भत्काएर नयाँ भवनका लागि जग खन्ने कार्य सम्पन्न भइसकेको छ ।

    अदालतको मुख्य भवन तथा आवास निर्माणका लागि ५७ करोड ४२ लाखमा काठमाडौंस्थित श्यामसुन्दर पशुपति जेभीले ठेक्कामार्फत काम थालेको हो । उक्त इजलासको भवन पुनःनिर्माण गर्न बजेट अभावका कारण सात वर्षपछि मात्रै थालिएको त्यहाँका मुख्य न्यायाधीश कृष्ण गिरीले बताए ।

    भूकम्पपछि जिर्ण भवन प्राविधिक दृष्टिले निकै खतरापूर्ण भए पनि सात वर्षदेखि जोखिम मोलेरै न्याय सम्पादन भइरहेकामा अहिले बल्ल पुनःनिर्माण थालिएको हो ।

    बाग्लुङ नगरपालिका-२ स्थित सात रोपनी जग्गामा ५७ करोडको लागतमा सुविधासम्पन्न उच्च अदालतको भवन र सामूहिक आवास, अथितिगृहलगायत संरचान एकैसाथ निर्माण थालिएको छ ।

    प्राविधिकरूपमा बस्नै नमिल्ने अदालतको भवनलाई सामान्य मर्मतसम्भारपश्चात् अहिलेसम्म सेवा दिँदै आइएको थियो । जिल्ला अदालतको भुइँतला र पहिलो तलाबाट जिल्ला अदालतको सेवा र दोस्रो तला र छतमा बनाइएको ट्रस्टको छाप्रोबाट उच्च अदालतको सेवा दिइएको छ ।

    नयाँ निर्माण हुने उच्च अदालतको भवन प्रविधिमैत्री, अपांगतामैत्री, भूकम्प प्रतिरोधी हुनाका साथै बाग्लुङ बजारमा निर्माण भइरहेका अन्य भवनभन्दा ठूलो र आधुनिक भएको सघन शहरी तथा भवन निर्माण कार्यालयका प्रमुख सुनिता श्रेष्ठले भने ।

    उनका अनुसार अन्डरग्राउण्डसहित साढे छ तलाको उक्त भवनमा विद्युतीय लिफ्टको समेत व्यवस्था छ । भवनसँगै दुई/दुई तलाका अन्य भवन र अथितिगृहसमेत निर्माण गरिनेछन् ।

    दुईवटा इजलास रहेको उच्च अदालतमा नयाँ भवन निर्माणसँगै छ वटा इजलास कक्ष हुनेछन् । तीस महिनाभित्र भवन निर्माण सक्ने गरी पुनःनिर्माण गर्न ठेक्का सम्झौता गरिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij