वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय योजना आयोगले ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ नामक डिजिटल पुस्तक सार्वजनिक गरेको छ । आयोगले मंगलबार एक कार्यक्रमबीच उक्त पुस्तक सार्वजनिक गरेको हो ।
यो पुस्तक योजना आयोगको अग्रसरतामा राष्ट्रिय तथ्यांक कार्यालय, विकासका लागि तथ्यांक कार्यक्रम, द एशिया फाउण्डेशन र नेपाल इन डाटाले संयुक्त रुपमा तयार पारेको हो ।
राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले सही तथ्यांक प्राप्ति र त्यसको विश्लेषणमा ठूलो खाडल महशुस भएपछि यो डिजिटल पुस्तक प्रकाशनमा ल्याइएको बताए । सबै नीति तथा योजना निर्माणको आधार तथ्यांक भएकाले यसको विश्लेषण तथ्यपूरक हुनुपर्ने आवश्यकता उनको भनाइ छ ।
‘तथ्यांकको प्रस्तुती कसरी गर्ने भनेर स्पष्ट पार्न यो प्रकाशन ल्याइएको हो । तथ्यांकको परिभाषादेखि यसको संकलन, प्रशोधन, ब्याख्या, र विश्लेषण विधिसम्म समेटिएकाले यो एउटा महत्वपूर्ण पुस्तक हो भन्ने मलाई लागेको छ ।’ सचिव भण्डारीले भने ।
पुस्तक सार्वजनिक कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका सहसचिव नेबिल लाल श्रेष्ठले आर्थिक क्षेत्रसँग जोडिएका हरेक तथ्यांकको परिभाषासहितको एकीकृत जानकारी पाउने गरी यो प्रकाशन तयार पारिएको बताए ।
त्यस्तै, नीति निर्माता, अध्ययन-अनुसन्धान कर्ता, सार्वजनिक निकाय, पत्रकारिता क्षेत्र, शैक्षिक क्षेत्रलगायत विभिन्न क्षेत्रमा तथ्यांकको गलत विश्लेषण नहोस् भन्ने उद्देश्य राखेर यो पुस्तक तयार पारिएको पनि उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij