वेबटिभी खबर
काठमाडौं । नेपाल नगरपालिका संघका अध्यक्ष एवम् निलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी) शिक्षकहरूलाई सम्मानजनक पारिश्रमिक उपलब्ध गराउनुपर्ने बताएका छन् ।
इसीडी शिक्षकहरूले श्रम अनुसारको पारिश्रमिक नपाएको उनले बताए । उनले इसीडी शिक्षकहरूको श्रमशोषण भएको पनि बताए ।
‘इसीडी शिक्षकहरूले २ बजेसम्म पढाउने भने पनि विद्यालयमा पूरा अवधि काम गरेका हुन्छन् । सबैभन्दा बढी मेहनत उनीहरूले नै गरेका हुन्छन् । उनीहरू एकदिन विद्यालय नगए बालबालिकालाई सम्हाल्ने कोही हुँदैन । तर इसीडी शिक्षकहरू समस्यामा छन्,’ उनले भने ।
उनले शिक्षकहरूको तलब विकास निर्माणमा स्थानीय तहले खर्च नगरेको दाबीसमेत गरे । सरकारले बजेटमा इसीडी शिक्षकहरूलाई न्यूनतम १७ हजार तलब दिने घोषणा गरेको थियो । उक्त घोषणामा संघीय सरकारले १० हजार र स्थानीय सरकारले ७ हजार दिने भनेपनि शिक्षकहरूले तलब नपाएको गुनासो गरेका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हंसबहादुर शाहीले इसीडी शिक्षकहरूको माग सम्बोधन गर्न केन्द्र सरकार र स्थानीय तह दुबै जिम्मेवार हुनुपर्ने बताए ।
‘शिक्षकको अधिकार स्थानीय तहमा भएकाले स्थानीय तहलाई जिम्मेवार बनाउँदै इसीडी शिक्षकहरूलाई समयमै पारिश्रमिक उपलब्ध गराउनुपर्छ,’ उनले भने । फाइल तस्बिर
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij