वेबटिभी खबर
सिन्धुली । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग रहेको बताएका छन्।
उद्योग वाणिज्य संघ सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको छैटौँ सिन्धुली महोत्सवको आज उद्घाटन गर्दै उनले मुलुकको अस्वस्थ अर्थतन्त्र सुधारका लागि सरकारले विशेष योजना अघि सारेको बताएका हुन् ।
उनले उद्योगहरूको उत्पादन बढाउनका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको जानकारी दिए । आर्थिक नीति र मौद्रिक नीतिमा सुधारका लागि क्षमता अनुसार काम गर्ने उनको भनाइ छ ।
चालु आवको बजेटमार्फत् राष्ट्रिय उत्पादन र उपभोग बढाउने नीति लिइएको र सोही अन्तर्गत नेपाली उत्पादन र उपभोग कार्यक्रम १० वर्षे अभियान सुरु भएको उनले बताए ।
ग्रामीण तहदेखि उद्योग स्थापना, रोजगारी सिर्जना गरी युवालाई उद्यमशीलतामा नजोड्ने हो भने अर्थतन्त्रमा सुधार आउन नसक्ने उनको भनाइ छ ।
‘हातमा सीप हुनेहरूलाई उद्यमशिलताका पाँच लाखदेखि २५ लाखसम्म बीउ पुँजी दिइनेछ’, उनले भने, ‘युवा र महिलालाई उद्यम सुरु गर्नका लागि सरकारले बीउ पुँजी दिने गरी विषेश कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ ।’
उद्यमशिलता र उद्योगको स्थापना सरकारको मुख्य लक्ष्य रहेको छ । उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको भन्दै यसका लागि सरकारले आवश्यक पहल गर्ने बताए ।
जिल्लामा आयोजना हुने महोत्सवले यहाँको उत्पादनको प्रचार र बजारीकरणका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । महोत्सवबाट हुने आम्दानीले दमकल खरिद गर्ने योजनाको स्वागत गर्दै संघीय सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij