वेबटिभी खबर
तनहुँ । बजारमा अदुवाको माग घटेपछि किसान कम मूल्यमा अदुवा बिक्री गर्न बाध्य भएका छन् ।
बारीमै अदुवा कुहिन थालेपछि कम मूल्यमा बिक्री गर्न बाध्य भएको तनहुँको भिमाद नगरपालिका-४ रजिडाँडाका अदुवा कृषक तुलबहादुर रानाले बताए ।
‘अदुवा निकाल्ने समय भएको छ । अदुवाको माग खासै आएको छैन् । कुहिनुभन्दा कम मूल्यमा बिक्री गर्न थालेका छौँ’, उनले भने । गत वर्ष अदुवाको माग नभएपछि बिक्री गरिएको थिएन् ।
यस वर्ष पनि माग नआएको उनको भनाइ छ । ‘बारीमै कुहिनुभन्दा कम मूल्यमै बेच्न थालेका छौँ । विगत दुई वर्षदेखि धार्नीको दुई सयदेखि दुई सय ५० सम्ममा बिक्री गर्दै आएका थियौँ । यसपटक बढ्नुपर्ने बेलामा झन् घटेर बेच्न बाध्य छौँ । यस वर्ष धार्नीको एक सयमा बेच्दैछौँ’, उनले भने, ‘लगानी नै उठ्दैन यसपटक ।’
बीउ महँगो मूल्यमा किन्नुपर्ने र बिक्री कम मूल्यमा गर्दा किसान मर्कामा परेका कृषक रानाले जानकारी दिए । मुख्यतः अदुवाको खपत भारतीय बजारमा हुने र भारतबाट माग नआएपछि अदुवा बिक्रीमा समस्या भएको उनको भनाइ छ ।
‘अदुवा बारीमै कुहिने, सुक्ने भएपछि निकाल्न थालिएको छ । अलि बढी पानी भएमा पनि कुहिने समस्या आउँछ’, उनले भने । कृषक रानाले वार्षिकरूपमा सात सय धार्नी अदुवा उत्पादन गर्छन् ।
यसपटक अलि कुहिएकाले छिटो निकालिएका छन् । यस क्षेत्र अदुवा पकेट क्षेत्र हो । उक्त क्षेत्रका प्रत्येक किसानले एक सयदेखि नौ सय धार्नीसम्म अदुवा उत्पादन गर्ने गरेका उनले बताए ।
रजिडाँडाका मात्रै २५ घरधुरीले अदुवा उत्पादन गर्दै आएका छन् । त्यस स्थानका कृषकले समूह बनाएर अदुवा खेती गर्दै आएका छन् । गत वर्ष उत्पादन गरिएको बीउ शुक्लागण्डकी नगरपालिकाका लागि अदुवाको बीउ निर्यात गरिएको छ ।
बिक्री नभएका अदुवाको सुठो बनाएर बिक्रीका लागि बजारमा पठाइने गरिएको छ । माघ र फागुनसम्म अदुवा निकाल्न मिल्ने र चैतमा बीउ रोपण गर्ने समय हो ।
भिमाद साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष नारायण खनालले अदुवा प्रशोधन बिक्रीका लागि बजार खोजी गर्ने गरेको बताए । गत वर्ष करिब २८ मेट्रिक टन बुटवलको प्रशोधन केन्द्रमा प्रशोधन गरी बिक्रीका लागि तयार रहेको उनले जानकारी दिए ।
गत वर्ष प्रतिकेजी ४० मा खरिद गरी प्रशोधन केन्द्रमा लगिएको उनको भनाइ छ । यस वर्ष प्रतिकेजी २८ मा खरिद गर्ने बताउँदै आएको उनले बताए ।
‘नेपालमा आफैँले उत्पादन गर्ने प्रचलन छ । निर्वाहमुखी खेतीले पुग्छ र किसानले उत्पादन गरेका अदुवा भारतीय बजारमा नै बिक्री हुने हो । कम अदुवा बिक्रीका लागि लैजाने हुँदैन । धेरै उत्पादन छैन यसले गर्दा बजारको समस्या भएको हो’, अध्यक्ष खनालले भने, ‘केही भने यहीको बजारमा खपत हुन्छ ।’
कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवम् वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले कृषकले उत्पादन गरेको वस्तुको बजार सिर्जना गर्ने कार्यमा स्थानीय सरकारले भूमिका खेल्नुपर्ने बताए ।
‘विश्वमा पूर्णरूपमा आयातित वस्तु उपभोग गर्ने देश छन् । ती देशसँग समन्वय, सहकार्य गरी व्यापारिक सम्बन्ध कायम गरी देशको आर्थिक समृद्धिलाई प्रमुख बनाउने भूमिकामा देशका मुख्य-मुख्य राजनीतिक दल र तीन तहको सरकारले समन्वय गर्न सके छिटो समृद्ध नेपाल बनाउन सहयोग पुग्नेछ’, उनले भने ।
कृषि क्षेत्रलाई नेपालको प्रमुख पेशा मानिए पनि बजारको अभावले कृषि पेशाबाट कृषक विमुख भएको पाइन्छ । यस पेशामा युवालाई टिकाउने र स्वदेशमै उत्पादन वृद्धि गरी आयातभन्दा निर्यातलाई प्रोत्साहन गर्न सरकारले नै कदम चाल्नुपर्ने अवस्था रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij