Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

  • 566
    SHARES
  • भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

    चितवन । भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको हो ।

    यात्रुको चाप हुने यो विमानस्थल विस्तारका प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणले टर्मिनल भवनका लागि बोलपत्र आह्वान गरी प्राविधिक मूल्यांकनको क्रममा छ ।

    प्राधिकरणका इञ्जिनीयर नलविक्रम थापाका अनुसार ६ वटा कम्पनीको बोलपत्र पेस भएको छ । ती प्रस्तावको प्राविधिक मूल्यांकनपछि आर्थिक प्रस्तावबाट अन्तिम टुंगो लगाएर सम्झौता गरिने छ ।

    पुस महिनाका अन्तिम सातासम्ममा सम्झौता भइसक्ने र बोलपत्रको रकम दुई अर्बको हाराहारी रहेको भन्दै एकिन रकम आर्थिक प्रस्तावपछि थाहा हुने उनको भनाइ छ ।

    तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी सम्झौता गरिने छ । अत्याधुनिक किसिमको ७ हजार सात सय ४९ वर्गमिटर क्षेत्रफलमा भवन निर्माण गरिने छ । यससँगै टावर हुनेछ । विमानस्थलको धावन मार्ग विस्तार हुँदासमेत काम गर्ने गरी टर्मिनल भवन बनाउन लागिएको हो ।

    नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्रलाई स्थानान्तरण गरी विमानस्थलको धावन मार्ग विस्तार गर्ने योजना रहेको छ । नेपाली सेनासँग प्राधिकरण छलफलमा रहेको थापाले जानकारी दिए ।

    उनले भने, ‘विमानस्थलको धावनमार्ग विस्तार हुँदासमेत काम गर्ने गरी टर्मिनल भवन बनाउन लागिएको हो ।’ हाल धावनमार्गको उडान र अवतरण हुने क्षेत्रमा अग्ला घर भएका कारण जहाजले कम यात्रु मात्रै बोक्ने गरेका छन् ।

    धावनमार्ग विस्तारसँगै ठूला जहाज उडान गर्न सकिने र रात्रिकालीन उडानसमेत हुनेछन् । भरतपुर महानगरपालिकाले यो विमानस्थललाई विस्तार गर्न पटक–पटक महानगरपालिकामै छलफल गरिसकेको छ ।

    महानगरकी प्रमुख रेनु दाहालले प्राधिकरण र नेपाली सेना सकारात्मक रहेकाले विमानस्थल विस्तारको काम हुनेमा आफू ढुक्क रहेको बताइन् । नेपाली सेनालाई वैकल्पिक ठाउँको व्यवस्था महानगरले गर्नका लागि विभिन्न ठाउँ प्रस्तावसमेत गरिसकेको छ ।

    छोटो धावन मार्ग र वरिपरि घर भएकाले दुर्घटना हुन नपाओस् भन्नका लागि धावनमार्ग विस्तार गर्न सरोकारवालाले निरन्तर दबाब दिँदै आएका छन् । यहाँबाट काठमाडौँ, पोखरा र भैरहवा उडान हुँदै आएको छ ।

    हाल बुद्ध र गुण एयरले दैनिक १० हाराहारी उडान गर्दै आएका छन् । २०२१ मा यहाँबाट आवतजावत गर्नेको संख्या ११ लाख ७६ हजार थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij