वेबटिभी खबर
बैटडी । सुदूरपश्चिम प्रदेशमा हालसम्म डेंगु संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार डेंगुका कारण कैलालीमा दुई र अछाममा एकजनाको मृत्यु भएको हो।
प्रदेशभर एक हजार दुई सय ७२ जनामा संक्रमण पुष्टि भइसकेको छ । कैलालीमा चार सय ३०, कञ्चनपुरमा दुई सय १४, दार्चुलामा तीन सय ३२, डोटीमा ८४, बैतडीमा ७३, डडेल्धुरा र अछाममा ४०/४०, बझाङमा ३३ र बाजुरामा २७ जनामा संक्रमण देखिएको जोशीले बताए ।
पछिल्लो समय सुदूरपश्चिममा डेंगु संक्रमण घट्दै गएको छ । गर्मी र वर्षातको समयमा संक्रमण बढी देखिएको भए पनि हाल भने बिरामीको संख्या घटेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दीपेश श्रेष्ठले जानकारी दिए ।
प्रमुख श्रेष्ठले भने, ‘वर्षातको समयमा दैनिक रूपमा बिरामी देखिने गरेकाले जोखिम निकै बढेको थियो, संक्रमितलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था पनि आयो । हाल भने त्यो जोखिम भने घटेको छ ।’
वर्षातमा दैनिक रूपमा डेंगुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेंगु फैलाउने लामखुट्टेको लार्भा भेटिएकाले पानी जम्ने ठाउँ पहिचान गरेर सरसफाई अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij