Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

अफ्रिकन स्वाइन फिभरले रित्तोयो बङ्गुर फार्म

अफ्रिकन स्वाइन फिभरले रित्तोयो बङ्गुर फार्म

  • 416
    SHARES
  • अफ्रिकन स्वाइन फिभरले रित्तोयो बङ्गुर फार्म

    कैलाली । कैलालीको भजनी नगरपालिका जयबहादुर बुढा लामो समयदेखि व्यावसायिक बंगुपालन गर्दै आएका छन् ।

    उनको उक्त व्यवसायमा एकाएक अफ्रिकन स्वाइन फिभरले क्षति पुगेको छ । फार्ममा रहेका चार सय ३२ बङ्गुर मरेपछि उनले ठूलो क्षति व्यहोर्नुपरेको हो ।

    भजनी नगरपालिका पशु सेवा शाखाले तयार गरेको प्रतिवेदनमा फार्ममा ९५ लाख २० हजार बराबरको क्षति भएको विवरण उल्लेख छ । बडिमालिका कृषि प्रवर्द्धन केन्द्रको नामबाट व्यावसायिक बङ्गुरपालन गर्दै आएका बुढालाई यो समस्याले निकै चिन्तित बनाएको हाे ।

    ‘बैंकबाट ऋण लिएर व्यवसाय सुरु गरिएको थियो । अहिले फार्म रित्तो भएको छ । आम्दानीको माध्यम समाप्त हुँदा बैंकको ब्याज र किस्ता कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता बढेको छ’, बुढाले भने, ‘कतैबाट राहत पाइन्छ कि भनेर आश गरेर बस्नुको विकल्प मेरा लागि अरु केही रहेन । अब व्यवसायमा फर्किने आधार पनि समाप्त भएका छन् ।’

    फार्ममा बचेका बङ्गुर पनि नष्ट गर्नुपर्ने पशु सेवा विभाग काठमाडौंका डा.मुकुल उपाध्यायले बताए । ‘जतिसक्दो छोटो फार्म खाली गराउनुपर्छ । त्यसको संक्रमण अन्यत्र नसर्न दिन बचेका बङ्गुर पनि नष्ट गर्नुपर्छ’, उपाध्यायले भने, ‘यो संक्रमण अन्त फैलियो भने त्यसले महामारीको रूप लिन सक्छ र जोखिम बढ्न सक्छ ।’

    असोज पहिलो साताबाट फार्ममा बङ्गुर मर्न थालेपछि पशुपक्षी अन्वेषण प्रयोगशाला धनगढी र केन्द्रीय प्रयोगशाला काठमाडौँमा प्रयोगशाला परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको हो ।

    बङ्गुरमा महामरी रोग फैलिन नदिन उक्त क्षेत्र सिल गरिएको छ । भजनी नगरकार्यपालिकाले प्रदेश तथा संघीय सरकारमा सहयोगका लागि सिफारिस गर्ने निर्णय गरेको छ । कात्तिक १५ गते पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढी र केन्द्रीय प्रयोगशाला काठमाडौँमा यो रोग देखिएको हो ।

    बङ्गुर प्रजातिमा देखापर्ने यो रोग केही वर्ष पहिला अमेरिका र त्यसपछि चीनमा देखापरेको थियो ।

    यसका कारण बङ्गुर मर्न थालेपछि गृहसचिव विनोदप्रकाश सिंह, पशु सेवा विभाग काठमाडौं डा.मुकुल उपाध्याय, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका डा.नरेशप्रसाद जोशी, भेटेरेनरी अस्पताल कैलालीका डा.हेमराज अवस्थीसमेतले स्थलगत अनुगमन गरेका थिए ।

    फार्ममा अझै पनि केही बङ्गुर जीवित छन् । फार्मका सञ्चालक बुढाले राहतको पर्खाइमा बचेका बङ्गुर नष्ट गर्न सकेका छैनन् ।

    उता नगरपालिकाका नगरप्रमुख केवल चौधरीले संक्रमण अन्यत्र फैलिन नदिनका लागि सावधानी अपनाएको बताउँदै फार्ममा भएको क्षतिको विवरण नगरपालिकाले संकलन गरेर प्रदेश र संघीय सरकारलाई राहतको व्यवस्थापनका लागि सिफारिस गर्ने निर्णय कार्यपालिकाबाट पास गरेको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij