वेबटिभी खबर
सर्लाही । लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार हराउने अभियानमा सक्रिय भएको भन्दै कांग्रेसका महाधिवेशन प्रतिनिधि शम्भुलाल श्रेष्ठलाई पार्टीको सर्लाही १ नम्बर क्षेत्रीय समितिले साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ ।
सर्लाही क्षेत्र नम्बर १ क्षेत्रीय समितिले गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारलाई सघाएको र श्रेष्ठलाई ध्यानाकर्षण गराउँदा पनि क्रियाकलाप नसुध्रिएकाले कारबाही गरेको जनाएको छ । श्रेष्ठ साेही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुनिएका हुन् ।

जिल्ला कार्यसमितिलाई सम्बोधन गर्दै क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीले लेखेको पत्रमा २३ कात्तिकमा बसेको क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरुको बैठकले श्रेष्ठलाई साधारण सदस्यसमेत नहरने गरी निस्कासन गर्न सिफारिस गरिएको उल्लेख छ ।
श्रेष्ठ यसपटक कांग्रेसबाट सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यकाे लागि टिकटका आकांक्षी थिए । गठबन्धनबाट सो क्षेत्र लोकतान्त्रिक समाजवादीको भागमा परेपछि उनी असन्तुष्ट भएका थिए । श्रेष्ठ २०७० सालकाे चुनावमा कांग्रेसबाट टिकट नपाएपछि नेकपा माओवादीमा प्रवेश गरेर माओवादीकाे टिकटमा चुनाव लडेर जितेका थिए । २०७४ सालकाे चुनावअघि उनी पुनः कांग्रेस प्रवेश गरेपछि पार्टीकाे आमन्त्रित केन्द्रीय सदस्य पनि भए । साे चुनावमा उनले कांग्रेसबाट टिकट पाए पनि जित्न भने सकेनन् । यसपटक उनी टिकटका प्रवल दावेदार भए पनि गठबन्धनका कारण कांग्रेसकाे भागमा साे क्षेत्र परेन ।
पत्रको बोधार्थ पार्टी केन्द्रीय कार्यालय, सानेपा र मधेस प्रदेश कायसमितिलाई दिइएको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij