वेबटिभी खबर
सर्लाही । चुनाव नजिकिँदै गर्दा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला सहइन्चार्ज रिता कुमारीले बिहीबार पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छिन् ।
जनता समाजवादी पार्टीसँग गरेको गठबन्धनको बिरोध गर्दै उनले प्रेस विज्ञप्ति जारी गरेर एमाले पार्टी छाडेको घोषणा गरेकी हुन् ।
‘नाकाबन्दीको विरोध गरेर राष्ट्रवादी छवि बनाएको पार्टी अध्यक्ष केपी ओलीले नाकाबन्दीको नाइके उपेन्द्र यादवसँग गठजोड गरेर देश र जनतालाई धोका दिने कार्य गरेको छ,’ रिताकुमारीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
राजसंस्था पुनःस्थापना गर्ने, संघीयता खारेज गर्नेजस्ता जनविरोधी एजेन्डा अगाडि बढाएको राप्रपासँग गठबन्धन गरेको पनि उनले आपत्ति जनाएकी छिन् ।
पछिल्लो समय देश र जनताको हितविपरितका गतिविधि पार्टीमा बढेको र त्यसमा आफूले फरक मत राख्दै आएको उल्लेख गर्दै उनले विज्ञप्तिमा भनेकी छिन्,‘तर पार्टीभित्र फरक मत राख्नेलाई निषेध गर्ने गुटगत मानसिकता हावी भएको कारण देश र जनताको पक्षमा हाम्रो बोलीलाई निरन्तर दवाउने कार्य हुँदै आएको छ ।’
उनले यथास्थितिवादी र प्रतिगामी तत्वहरूसँग गहिरो रूपमा साँठगाँठ गरेको एमालेले मुलुकलाई निकास दिन नसक्ने निष्कर्षसहित पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको उल्लेख गरेकी छिन् ।
वेबटिभी खबरसँग कुरा गर्दै उनले जसपासँग गठबन्धन गर्ने निर्णको सुरूदेखि नै विरोध गर्दै आएपछि सुनवाई नभएपछि पार्टी छाडेको बताइन् ।
‘यो गठबन्धन सुरूदेखि नै चित्त बुझेको थिएन,’ उनले भनिन्,‘साथीहरूसँग छलफलपछि म पार्टीबाट अलग्गीने निर्णयमा पुगेको हुँ ।’
उनले अब पार्टीको बन्धनबाट मुक्त भएको उल्लेख गर्दै आसन्न चुनावमा जता पनि सहयोग गर्न सक्ने बताइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij