वेबटिभी खबर
गोरखा । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी दिनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने बताएका छन् ।
गोरखा जिल्लाको अजिरकोट गाउँपालिकास्थित भच्चेकमा आज विहान आयोजित चुनावी कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै डा.भट्टराईले उक्त कुरा बताएका हुन् ।
गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित जनप्रतिनिधि आगामी दिनमा प्रधानमन्त्री र मुख्यमन्त्री बन्ने र जिल्लाको विकास पनि हुने डा.भट्टराइको भनाइ छ ।
अध्यक्ष डा.भट्टराईले भने, ‘यहाँ कसैले अन्यथा नमान्नु होला । कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री । यही क्षेत्रले प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् ?’
डा.भट्टराईले आफू सधैं जनताको साथमा हुने बताउँदै विकास निर्माणमा पुलको भूमिका निर्वाह गर्ने बताए । उनले भने, ‘उहाँले माथिबाट योजनाहरू बनाउनुहुन्छ । तपाईंहरूले योजना दिनुहुन्छ । बीचको पुलको काम मैले गर्छु । त्यसैले यो क्षेत्र देशकै मोडेल क्षेत्र बन्नसक्छ ।
अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार र सुरेन्द्र पाण्डे प्रदेशसभा सदस्य उम्मेदवार छन् ।
डा.भट्टराईले गोरखा–२ बाट लगातार ३ पटकसम्म अत्यधिक मतले चुनाव जित्दै आएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij