वेबटिभी खबर
जुम्ला । बाढीपहिरोले जुम्लामा मार्सीधानका फाँटसमेत बगेका छन् । मानवीय क्षति, मूल सडकदेखि घर तथा बस्ती जोखिम भएकाले धानबालीमा भएको क्षति एकिन गरिएको छैन ।
तर पाक्नै लागेका धानका फाँट बगेपछि किसानलाई ठूलो समस्या भएको छ । यसपटक भोकमरी हुने डर भएको हिमा गाउँपालिका-१ बड्कीका लालबहादुर शाहीले बताए ।
सिंजा क्षेत्रमा धानवालीसहित, सिमी, मकै, कोदो र बर्खेबालीमा यसपटकको भारी वर्षाले क्षति पुर्याएको छ ।
कनकासुन्दरी-५ निवासी उपेन्द्र न्यौपानेका अनुसार १९ देखि २६ असोजसम्म परेकाे पानीको सतह बढेपछि सिंजा क्षेत्रको कनकासुन्दरीमा कुउलापाटा, लासी खेती, तल्लो दियार ज्यूलो, बाधंगागा ज्यूलो, धिमीचौर ज्यूलामा धानसहित खेतमा समेत क्षति पुगेको छ ।
बाढीपहिरोपछि क्षति बढेपछि सरकारले जुम्ला, हुम्ला, कालिकोट र मुगुलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोहीअनुसार अहिले जुम्लामा पनि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली संकटग्रस्त क्षेत्रमा काममा लागेको छ ।
जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले सिंजा क्षेत्रमा काम गरेर पातारासी गाउँपालिकामा टोली काम खटिएको बताइन् । लगातारको वर्षाले सिंजा क्षेत्रमा सबैभन्दा बढी क्षति भएको छ । बाढी पहिरोले मानवीय क्षतिसँगै भौतिक क्षतिले सिंजा अहिले आक्रान्त छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार जुम्लामा १ हजार ९५२ मानिस विस्थापित भएका छन् । जसमध्ये सिंजा गाउँपालिकामा ७२५ जना र कनकासुन्दरी, गाउँपालिकामा २९८ जना गरि १०२३ जना नागरिक विस्थापित भएका छन् ।
सिंजा गाउँपालिका भवनमा बाढी पसेको अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।
बाढीपहिरोमा परी गत २२ र २३ असोजमा सिंजा क्षेत्रको कनकासुन्दरी गाउँपालिका-७ वारकोटेवाडामा पहिरोले एकै परिवारका पाँचजना, छिमेकी दुईजना र पुल तर्दै गर्दा सोही वडामा एकजना गरि आठ जनाको मृत्यु भएको थियो ।
हिमाका ३८६ घरधुरीमा पूर्ण क्षति
हिमा गाउँपालिकामा सबैभन्दा धेरै घर क्षेति भएको तथ्यांक सार्वजनिक भएको छ । गाउँपालिकाको पछिल्लो तथ्यांकअनुसार ३८६ घरधुरी पूर्ण क्षति भएका छन् । अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार ३८६ घरधुरीका करिब १ हजारभन्दा बढी मानिस विस्थापित छन् ।
हिमाको पछिल्लो तथ्यांकअनुसार ५१९ घर आंशिक र ६१३ घर सामान्य क्षति भएका छन् । हिमा गाउँपालिका-३ जोगिवाडामा एक आमा र छोरालाई घरबाट सुरक्षित स्थानमा जाँँदै गर्दा बाढीले बगाएको थियो ।
स्थानीय सत्यदेवी योगी र उनका छोरालाई बाढीले बगाएको हो । आमाको शव भेटिएको र छोरा वेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार सिंजामा १५७ घरधुरी र कनकासुन्दरीमा ४६ घरधुरी बिस्थापित भएका छन् ।
यसरी सिंजाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा मात्रै ५८९ घर पूर्ण क्षति भएका छन् । बाढीपहिरोले सिंजामा २३६ घरधुरी, कनकासुन्दरी ६७ र हिमामा २२ घरधुरी उच्च जोखिममा छन् ।
सिंजामा २२० घरधुरी, कनकासुन्दरीमा १८७ घरधुरी जोखिममा रहेको प्रहरीको तथ्यांक रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij