वेबटिभी खबर
सर्लाही । समाजसेवी तथा सर्लाहीका लोकप्रिय नेता नरेन्द्र साहले वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले जितेपछि विकासले रफ्तार लिने बताएका छन् ।
सर्लाही क्षेत्र नम्बर ३ बाट वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका पूर्वसांसद साहले बुधबार बरहथवामा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् ।
बरहथवा ३ (ख) मा पर्ने १० वटा वडाको अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्दै पूर्वसांसद साहले जनताका समस्याहरूलाई सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने पनि बताए ।
वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताएपछि सर्लाही क्षेत्र नम्बर ३ को समग्र विकासका लागि आफूहरू लागि पर्ने उनले बताए ।
यस्तै सर्लाही क्षेत्र नम्बर ३ प्रदेश (ख) बाट नेपाली कांग्रेसका उम्मेदवार हरेश महतोले वाम लोकतान्त्रिक गठबन्धन सत्य र असत्य, राम र रावणबीचको लडाइँ भएको बताए । गठबन्धनका उम्मेदवारले जितेपछि जनताका वाचा पूरा गर्ने बताए ।
यस्तै स्वागत मन्तव्य दिँदै नेकपा एकिकृत समाजवादी (एस) केन्द्रीय परिषद् सदस्य डा.सियाराम कुशवाहाले पहिलेको निर्वाचनमा नरेन्द्र साह पराजित भए पनि जनताका लागि काम गर्न नछोडेको बताए ।
‘जुन काम पराजय भोगेर पनि उहाँले गर्नुभयो त्यति त जित्नेले पनि गरेका छैनन्,’ कुशवाहाले भने, ‘हामी उम्मेदवारहरू सुरुमा सेवकका रूपमा प्रस्तुत हुन्छौं । पछि शासकका रूपमा स्थापित हुन्छौं । त्यो बानी अब हटाउनु पर्छ ।’
बिहानदेखि साँझसम्म घाम, पानी नभनि चुनावका लागि खटेर वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई जिताउनु पर्ने उनले बताए ।
त्यसैगरी सर्लाही क्षेत्र नम्बर ३ प्रदेश (क) बाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका डिल्लीप्रसाद उप्रेतीले द्वन्द्वको राजनीति अन्त्य गर्न, संविधानलाई दुर्घटनाबाट जोगाउन गठबन्धन बनेको बताए ।
क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार नरेन्द्र साह योग्य व्यक्ति भएको उनले बताए । गठबन्धनका उम्मेदवारलाई जिताउन उनले अपिल गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij