वेबटिभी खबर
प्युठान । जनता समाजवादी पार्टी,नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेर प्रतिगमनलाई साथ दिएको भन्दै जसपा प्युठानका पदाधिकारीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनीहरू डा.बाबुराम भट्टराई र महीन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) मा समाहित भएको जानकारी २३ असोजमा प्रेस विज्ञप्ति जारी गर्दै गराएका छन् ।
प्युठान जिल्ला अध्यक्ष श्याम गहतराज, उपाध्यक्षद्वय केशव के.सी., खिमा के.सी. र सचिव प्रकाश सुवेदीलगायत जिल्ला कमिटीका सम्पूर्ण पदाधिकारी जसपा परित्याग गरी नेसपामा समाहित भएका हुन् ।
अध्यक्ष, उपाध्यक्ष र सचिवद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘देशमा प्रतिगमनको खतरा बढिरहेको अवस्थामा जनता समाजवादी पार्टी नेपालले प्रतिगमनकाविरुद्ध अग्रगमनको एजेन्डा लत्याएर प्रतिगमनकै नेतृत्वकारी पार्टीसँग चुनावी तालमेल गर्न पुगेको अवस्थामा र क्षेत्रिय राजनीतिभन्दा माथि उठ्न नसक्ने देश र जनताप्रति धोका भएको महसुस गर्दै हामी तपशिल उल्लेखित व्यक्तिहरूले आजकै मितिदेखि प्रतिगमनलाई नै सहयोग पुग्नेगरी एकतालाई अस्वीकार गर्दछौं । आजकै मितिदेखि स्वच्छाले जिल्ला कमिटीका सम्पूर्ण पदाधिकारी जनता समाजवादी पार्टी परित्याग गरी नेपाल समाजवादी पार्टीमा संलग्न भई देशको संविधान रक्षार्थ गर्दै आगामी निर्वाचनमा होमिने निर्णय गर्दछौं ।’
जसपा अध्यक्ष यादव सत्ता गठबन्धनमा आबद्ध अन्य दलहरूले आफूलाई न्यून सिट दिएको भन्दै गठबन्धनबाट बाहिरिएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij