वेबटिभी खबर
बेइजिङ । चीनले मंगलबार आधिकारिक जनगणना तथ्यांक सार्वजनिक गर्दै जनसंख्या वृद्धिदर सुस्त भएको बताएको छ । चिनियाँ विज्ञका अनुसार जनसंख्यामा भएको सुस्त वृद्धि चिन्ताजनक छ । जनगणनाकाे परिणामहरूले जनसंख्या घट्न नदिन दम्पतीलाई बच्चा जन्माउन आग्रह गर्न चीन सरकारलाई दबाब दिएको छ ।
चीनले ७० लाख कर्मचारीको सहयोगमा सन् २०२० मा जनगणना गरेको थियो । जनगणनाको तथ्यांकका आधारमा भविष्यका योजनाहरु बनाउने भएकाले यसलाई त्यहाँ गम्भीरताका साथ लिइन्छ ।
न्युयोर्क टाइम्सका अनुसार चिनियाँ सरकार भविष्यमा मुलुकमा उपयुक्त जनशक्तिको अभाव हुने डरले चिन्तित हुन थालेको छ । गत वर्ष चीनमा जम्मा १२ लाख बालबालिका जन्मेका थिए । चीनको राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार चीनकाे भविष्यका लागि याे राम्राे संकेत हाेइन् ।
चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र र सुपर पावर हो । यदि जनशक्ति घट्ने क्रम नरोकिए भौगोलिक अवस्था द्रुत रूपमा परिवर्तन हुन सक्ने खतरा पनि छ । यसले आर्थिक वृद्धि र सेनामा प्रत्यक्ष असर पार्नेछ । चीनको युवाको तुलनामा वृद्ध व्यक्तिको संख्या बढी हुनाले पनि चीन थप चिन्तित भएको छ । ज्येष्ठ नागरिकको उपचार, पेन्सनलगायतमा खर्च धेरै हुने र आय कम हुनाले अर्थतन्त्र साेचेअनुरूप नहुन सक्छ ।
अर्कोतर्फ सन् २०१४ देखि चीनमा विवाह गर्ने युवाको संख्या घट्दो छ, जसको प्रत्यक्ष असर जन्मदरमा पर्छ । साथै सन् २००३ यता विवाह गर्ने युवाहरुले पनि सम्बन्धविच्छेद बढेको छ । जन्मदरमा प्रभाव पार्ने यो अर्को तत्व हो ।
ब्युरोले चीनको जनसंख्या केही वर्ष एक अर्ब ४० करोडभन्दा केही बढी हुने जनाएको छ । ब्युरोका प्रमुख निङ जिंगेले जनसंख्याको उच्चतम विन्दु अझै आइ नपुगेको जनाउँदै त्यस्तो उच्चतम विन्दु कहिले आउँछ यत्तिकै पूर्वानुमान गर्न कठिन रहेको बताए ।
हालैका वर्षका जनसांख्यिक प्रवृत्तिलाई आधार मान्दा चीनको जनसंख्या वृद्धि निरन्तर घट्ने देखिन्छ, उनले भने । उमेरको संरचना, छोराछोरी जन्माउने बारेमा मानिसका धारणा, सरकारको जनसंख्या नीति, बालस्याहारमा हुने खर्च, स्वास्थ्य सेवा र मानिसको स्वास्थ्य अवस्था जस्ता पक्षले पनि जनसंख्या वृद्धिमा असर पर्ने उनले औंल्याए ।
चीनको जनसंख्या एक अर्ब ४१ करोड पुगिसकेको छ । विगत एक दशकमा चीनको जनसंख्या वार्षिक औसतमा ०.५३ प्रतिशतले वृद्धि भएको मंगलबार सार्वजनिक विवरणमा देखिएको तथ्यांक ब्यूरोले जनाएको छ ।
ब्यूरोका अनुसार सन् २००० देखि २०१० सम्म वार्षिक ०.५७ प्रतिशतको जनसंख्या वृद्धि रहेकामा पछिल्लो दशकमा भने केही कमी आई ०.५३ प्रतिशत रहेको छ । निङका अनुसार चीनको जनसंख्या वृद्धि पछिल्लो दशकमा निरन्तर घट्नेक्रममा देखिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij