वेबटिभी खबर
तनहुँ । तीन दिनदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डका विभिन्न ठाउँमा पहिरो जाँदा सर्वसाधारणले सास्ती पाएका छन् ।
अविरल वर्षाका कारण पृथ्वीराजमार्गका विभिन्न ठाउँमा गएको पहिरोले सडक अवरूद्ध भएको थियो । अहिले सो राजमार्गमा पहिरो पन्छाएर एकतर्फि सञ्चालनमा ल्याइएको छ ।
आज बिहानदेखि ठाउँ-ठाउँमा गएको पहिरोले सर्वसाधारण बाटोमै रोकिएका थिए । निरन्तर भइरहेको वर्षाका कारण जोखिम यथावत् नै छ । म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाका तीन ठाउँमा गएको पहिरोले सर्वसाधारणलाई यात्रामा समस्या भएको दमौली निवासी डा.शेषरमण न्यौपानेले बताए ।
म्याग्दे-१ स्थित गुणादी, व्यास-४ स्थित मादी पुल र व्यास-१२ स्थित घाँसीकुवामा गएको पहिरोका कारण सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिए ।
प्रहरी निरिक्षक सुनारका अनुसार गुणादीमा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ भने घाँसीकुवामा दुईतर्फी नै सडक सञ्चालन भएको छ । मादी पुल नजिक लेदोसहितको खसेको पहिरो पन्छाउने काम भइरहेको छ ।
निरन्तर वर्षा भइरहेकाले जोखिमको सम्भावना कायमै रहेको छ । पहिरो जान सक्ने सम्भावना भएकाले पहिरो पन्छाउन टोली तयारीमा अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।
वर्षाका कारण जिल्लाका ग्रामीण सडक अवरूद्ध छन् । वर्षाका कारण सडक अवरूद्ध हुँदा दसैँको टीका लगाउन जानेहरू समस्यामा परेका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij