वेबटिभी खबर
काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोटको दोस्रो खेलमा आज (शुक्रबार) नेपालले आयोजक भियतनामको सामना गर्दैछ । नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनामविरूद्ध खेल्दा रक्षापंक्तिमा ध्यान दिँदै काउन्टर अट्याक गर्ने बताएका छन् ।
भियतनाम बलियो टिम छ । तर यसको मतलब हामी कमजोर छौँ भन्ने होइन । जसरी हुन्छ भियतनामलाई रोक्ने हाम्रो योजना हो । उनले भने, ‘त्यसका लागि हामी रक्षापंक्तिलाई मजबुत बनाउने छौँ । अनि काउन्टर अट्याक गर्दै गोल निकाल्ने प्रयास गर्नेछौँ ।’
मुख्य प्रशिक्षक श्रेष्ठले भियतनामको पासिङ गेमलाई अवरोध पुर्याउन नेपाली खेलाडीले पनि अनुशासित भएर रक्षात्मक खेलुपर्ने बताउँछन् । व्यक्तिगत कौशल भन्दा सामूहिक प्रयासमा ध्यान दिने हाम्रो योजना रहेको उनले बताए ।
उनले भने, ‘पहिलो खेलको दोस्रो हाफमा हाम्रो रक्षापंक्तिको संरचना केही बिग्रिएको थियो । आजको खेलमा टिमको रणनीतिक संरचना (ट्याक्टिकल सेप) नबिग्रियोस भनेर चनाखो रहनेछौँ ।’
यसअघि पहिलो खेलमा नेपाल बलियो थाइल्यान्डसंग ३-० ले पराजित भएको थियो । नेपाली टिमका कप्तान प्रशान्त लक्षमले अत्यधिक गर्मीका बाबजुद दिउँसो खेल्नु परेकाले थाइल्यान्डसँग सोचे जस्तो खेल देखाउन नसकेको बताए ।
पहिलो खेलको अनुभवका कारण दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने आफूहरुको लक्ष्य रहेको उनको भनाइ छ ।
लक्षमले भने, ‘मलाई लाग्छ थाइल्यान्डभन्दा बलियो टिम हो भियतनाम। भियतनामी खेलाडीहरुको पासिङ राम्रो छ । हामी सबैले आआफ्नो भूमिका शतप्रतिशत निभाए उनीहरुलाई रोक्न सकिन्छ । प्रशिक्षकको रणनीति पछ्याउँदै आफ्नो पोजिसन नछाडी खेलेमा सकारात्मक नतिजा निकाल्न सकिन्छ जस्तो लागेको छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij