वेबटिभी खबर
तनहुँ । दमौली अस्पतालले कोभिड संक्रमितको उपचार सुरु गरेको छ । अस्पतालले मंगलबारदेखि कोभिड संक्रमितलाई भर्ना गरेर उपचार सुरु गरेको हो ।
अस्पतालमा पाँच संक्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुनिल पौडेलले जानकारी दिए । उनकाअनुसार चार व्यास नगरपालिका र एक म्याग्देका संक्रमितको उपचार सुरु गरिएको छ । सबै संक्रमित निमोनियापीडित छन् । संक्रमितलाई अक्सिजन दिइएको छ ।
‘सबै संक्रमितको फोक्सोमा निमोनिया देखिएको छ, उहाँहरुलाई अक्सिजन र अत्यावश्यक औषधि दिइएको छ’, डा.पौडेलले भने ।
उनका अनुसार अस्पतालमा १६ संक्रमितलाई उपचार गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । अहिलेको अवस्थामा उक्त शय्या आजै भरिनेजस्तो देखिएको डा.पौडेलले बताए ।
अस्पतालले जनरल वार्डलाई कोभिड कक्षमा रूपान्तरण गरेको थियो । उक्त ठाउँमा शय्या थप गर्ने प्रयास भइरहेको पनि अस्पतालले जनाएको छ । अस्पतालले सात आइसीयू र चारवटा भेन्टिलेटरसहितको शय्या यसअघि नै तयार गरिसकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij