वेबटिभी खबर
बाग्लुङ । बाग्लुङको तमानखोला गाउँपालिका-१ सम्मर गाउँका कृषक यसवर्ष निकै समस्यामा परेका छन् ।
कृषि ज्ञान केन्द्र बाग्लुङले कृषकलाई नयाँ जातको मकैको बीउ अध्ययन बिनानै वितरण गर्दा उत्पादन राम्रो नभएपछि कृषक समस्यामा परेका हुन् ।
गाउँलाई गत वर्ष मकै पटेक क्षेत्र घोषणा गरिएको थियो । गणेश जातको मकैको बीउ १७ समय मिटरभन्दा माथिको उचाइमा लगाउनुपर्ने हो तर सम्मर गाउँ एक हजार छ सय मिटरको उचाइमा छ ।
गणेश जातको मकै लगाउने उत्तम उचाइभन्दा होचो क्षेत्रमा बीउ लगाउँदा मकै ढल्ने, राम्रो घोगा नहाल्ने समस्याले उत्पादनमा कमी आएको कृषकको गुनासो छ । यहाँका कृषकले गत वर्षसम्म मनकामना जातको मकै लगाउने गरेका र उक्त जातको बीउले उत्पादन पनि राम्रो दिएको थियो ।
‘यसवर्ष कृषि ज्ञान केन्द्रले वितरण गरेको बीउले नै ठग्यो’, स्थानीय कृषक प्रेमबहादुर पुनले भने, ‘यसपालि उत्पादनमा निकै कमी आयो, अर्को वर्षदेखि यो बीउ लगाउनै नहुने भो।’
मकै ब्लगका अध्यक्षसमेत रहेका पुनले गाउँका अधिकांश कृषकले कृषि ज्ञान केन्द्रले वितरण गरेको बीउ लगाएका छन् । नयाँ जातको बीउबाट राम्रो उत्पादन गर्न सकिने आश गरिएको तर उत्पादनमा निकै कमी भएपछि निराश हुनु परेको बताए ।
ज्ञान केन्द्रका प्राविधिकले अर्को वर्षदेखि यो बीउलाई उच्च ठाउँमा पठाउने र यहाँ मनकामना जातनै लगाउन सुझाएको उनको भनाइ छ । स्थानीय कृषक छमप्रकाश पुनले भएको सबै बारीमा नयाँ जातको मकै लगाउँदा धेरै नोक्सानी व्यहोर्नु परेको बताए ।
ज्ञान केन्द्रले सुरुमै गाउँमा आएर प्राविधिकरूपमा माटो जाँच गरेर बीउ वितरण गरेको भए आफूहरूले धेरै नोक्सानी व्यहोर्न नपर्ने उनले जानकारी दिए ।
बीउ वितरण गर्ने बेलामा प्राविधिक आएर यहाँको वस्तु स्थिति, माटो र हावापानी परीक्षण गरेको भए हामीले यति धेरै नोक्सानी भोग्नुपर्ने थिए’, उनले भने, ‘अब अर्को वर्षदेखि पहिलेको बीउले राम्रो उत्पादन दिएको त्यसैलाई निरन्तर गर्नुपर्छ ।’
कृषि ज्ञान केन्द्र बाग्लुङका प्रमुख भानुभक्त भट्टराईले सम्मर गाउँ एक हजार ६ सयभन्दा माथिको उचाइमा रहेको भन्दै बीउको माग गरेको र सोही अनुसार केन्द्रले बीउ उपलब्ध गराएको बताए ।
उनले उत्पादनमा केही कमी आए पनि नयाँ बीउ भएको हुँदा प्राविधिकरूपमा उत्पादनमा खासै कमी नआएको जानकारी दिए ।
‘नयाँ बीउ हो, केही कमी आउन सक्छ, गणेश जातको मकै गणेश हिमालको नामबाट राखिएको हो, यो एक हजार सात सय मिटरभन्दा माथिको उचाइमा राम्रो उत्पादन हुने हो, कृषकहरूले माग गर्दा निकै उचाइमा छ, हाम्रो ठाउँ भनेर माग गरे ।
‘हामीले पनि सोहीअनुसार उहाँहरूलाई मकैको बीउ उपलब्ध गरायौं’, प्रमुख भट्टराईले भने, ‘यसका लागि कृषकले बढी मेहिनत गर्नुपर्छ, उहाँहरूले कम मेहिनत गर्नुभयो, कम्पोस्ट मलको आवश्यक हुन्छ, मल पनि कम प्रयोग भएको हुँदा उत्पादन कम भएको हो ।’
भट्टराईले ज्ञान केन्द्रले तालिम दिएअनुसार कृषकले काम नगर्दा उत्पादनमा कमी आएकोसमेत बताए । उनले अर्को वर्षदेखि मकामना-३ जातकै बीउ वितरण गर्ने योजना बनाएको जानकारी दिए । त्यस क्षेत्रमा आगामी वर्षका लागि मनकामना जातकै बीउ प्रस्ताव गरि केन्द्रमा सिफारिस गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij