Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कैलालीमा लालपुर्जा प्राप्तिका लागि एक लाखभन्दा बढीको निवेदन

कैलालीमा लालपुर्जा प्राप्तिका लागि एक लाखभन्दा बढीको निवेदन

  • 345
    SHARES
  • कैलालीमा लालपुर्जा प्राप्तिका लागि एक लाखभन्दा बढीको निवेदन

    कैलाली । राष्ट्रिय भूमि आयोग कैलाली जिल्ला समितिमा एक लाख १० हजार सात सय ९६ निवेदन दर्ता भएका छन् । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा प्राप्तिका उक्त निवेदन दर्ता गराएका हुन् ।

    कैलालीका १३ स्थानीय तहमध्ये १० स्थानीय तहका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जाका लागि निवेदन दर्ता गराएको जिल्ला समितिका सदस्यसचिव सुदर्शनसिंह धामीले जानकारी दिए ।

    जिल्लामा सबैभन्दा बढी अव्यवस्थित बसोबासीले ९३ हजार पाँच सय ६६, भूमिहीन सुकुम्बासीले ९ हजार ६ सय ६४ तथा भूमिहीन दलितले ७ हजार पाँच सय ६६ निवेदन दर्ता गराएको उनले बताए ।

    धामीका अनुसार धनगढी उपमहानगरपालिकाका १७ हजार चार सय ५३, गोदावरी नगरपालिकाका १८ हजार ६४, भजनी नगरपालिकाका नौ हजार तीन सय १३ र कैलारी गाउँपालिकाका छ हजार आठ सय सात भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दर्ता गराएका छन् ।

    यस्तै घोडाघोडी नगरपालिकाका १३ हजार ५७, लम्कीचुहा नगरपालिकाका १७ हजार पाँच सय ३३ र गौरीगंगा नगरपालिकाका १२ हजार तीन सय ४८जनाको  निवेदन दर्ता भएको जनाइएको छ ।

    बर्दगोरियाका छ हजार दुई सय ९४, जोशीपुर गाउँपालिकाका चार हजार चार सय दुई र जानकी गाउँपालिकाका पाँच हजार पाँच सय २५ जनाको निवेदन दर्ता भएको छ ।टीकापुर नगरपालिका, मोहन्याल गाउँपालिका र चुरे गाउँपालिकाको तथ्यांक नआएको र लगत संकलन भइरहेको जनाइएको छ ।

    आयोगले २०७८ चैत २५ गते धनगढी उपमहानरपालिकाका २२ र यही भदौ ७ गते लम्कीचुहा नगरपालिका बल्चौरका एक सय २४ भूमिहीन दलित परिवारलाई लालपुर्जा पनि वितरण गरिसकेको छ ।

    धामीले लगत संकलनको काम जारी रहेकाले अझै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीको संख्या बढ्ने बताए।

    धनगढी उपहानगरपालिका, गोदावरी, भजनी, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिका गरी पाँच स्थानीय तहमा नाप नक्साको काम भइरहेको छ भने बाँकी पालिकामा प्वाइन्ट कायम गर्ने, लगत संकलन गर्ने, नाप नक्साको तयारी गर्ने काम भइरहेको छ ।

    संविधानमा भएको व्यवस्थाअनुसार पहिलो प्राथमिकतामा भूमिहीन दलित दोस्रोमा भूमिहीन सुकुम्बासी र तेस्रोमा अव्यवस्थित बसोबासी रहेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij