Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

शिव लिङ्गेश्वर धाम कटानको जोखिममा

शिव लिङ्गेश्वर धाम कटानको जोखिममा

  • 348
    SHARES
  • शिव लिङ्गेश्वर धाम कटानको जोखिममा

    कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका-४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ ।

    शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको छ । बाढीले कटान गर्दा यस क्षेत्रकाे लिङ्गेश्वर धाम कटानको जोखिममा परेको हो ।

    ‘विगतका वर्षमा यति धेरै कटान भएको थिएन, यसपटकको बाढीले लिङ्गेश्वर धाममा ठूलो क्षति पुर्‍याएको छ’, स्थानीय महेन्द्र बोहराले भने, ‘समयमै कटान रोक्न सकिएन भने यो ठाउँ पूर्णरूपमा बगरमा परिणत हुने जोखिम छ ।’

    कटान रोकथाम गरेर पर्यटकीय क्षेत्रको संरक्षण, संवर्द्धनमा स्थानीय तहले तदारुकता देखाउनुपर्ने उनको भनाइ छ । लिङ्गेश्वर धाममा चुरे पहाड खिइएर बनेको अनौठो दृश्य रहेकाले यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

    ‘बेदकोटको चिनारीकारूपमा रहेको लिङ्गेश्वर धाम धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ’, अर्का स्थानीय कपिल जोशीले भने, ‘नगरलाई देश-विदेशमा चिनाएको छ, त्यसैले यसको संरक्षण आवश्यक छ ।’

    बाढीले लिङ्गेश्वर क्षेत्रमा पर्यटकहरूका लागि तस्वीर खिच्न निर्माण गरिएको ‘सेल्फी वाल’ बगाएको छ । यस्तै धाम क्षेत्रमा रहेको लिङ्गेश्वर मन्दिर कटानको उच्च जोखिममा छ ।

    ‘नदीले कटान गरेर मन्दिर बगाउने स्थिति छ, एक मिटरमात्रै बाँकी छ’, बेदकोट नगरपालिका-४ का अध्यक्ष नरबहादुर बोहराले भने, ‘फोटो खिच्न बनाइएको सेल्फी प्वाइन्ट बगाएको छ ।’

    अध्यक्ष बोहराका अनुसार बाढीले लिङ्गेश्वर जोड्न बगुन खोलामा निर्माणाधीन झोलुङ्गे पुलको ढुंगाले निर्माण गरिएको पिलर पनि बगाएको छ । ‘तटबन्ध बगाएर बाढीले क्षति गरिरहेको छ, अहिले तटबन्ध गर्नु र नगर्नुको अर्थ छैन, बाढीले बगाउँछ’, उनले भने, ‘अहिले सामान्य ढुंगा राखेर अस्थायी तटबन्ध गरेका छौं ।’

    आन्तरिक पर्यटनको रोजाइमा पर्न थालेपछि बेदकोट नगरपालिकाले लिङ्गेश्वर धाममा विभिन्न भौतिक संरचना निर्माण गरेको थियो । स्थानीय तहको बजेटले मात्रै लिङ्गेश्वर धाम कटानको दीर्घकालीन समाधान गर्न नसकिने बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले बताए ।

    प्रदेश र संघ सरकारसँग थप बजेट माग गरेर कटान समस्याको दीर्घकालीन समाधान खोजिने उनले जानकारी दिए । ‘नगरपालिकाको बजेटले मात्रै यो सम्भव छैन, करोडौं लगानी लाग्ने देखिन्छ’, उनले भने, ‘यसका लागि प्रदेश र संघ सरकारको ध्यानाकर्षण गराउँछौं ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij