वेबटिभी खबर
बैतडी । बैतडीका २८ जनामा स्क्रब टाइफस संक्रमण भएको छ । चालु आर्थिक वर्षको हालसम्म २८ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमण देखिनेमा जिल्लाका सबै स्थानीय तहका बिरामी रहेको कार्यालयले जनाएको छ । पछिल्लो समयमा स्क्रब टाइफसका बिरामीको संख्या बढ्दै गएको छ । बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिको परीक्षण गर्दा स्क्रब टाइफस देखापर्ने गरेको हो ।
परीक्षण नगराएका व्यक्तिमा समेत स्क्रब टाइफसको संक्रमण हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । जिल्ला अस्पतालमा हाल दैनिकरूपमा ‘स्क्रब टाइफस’का बिरामी फेला पर्न थालेकाे जिल्ला अस्पतालका प्रमुख डा.दिपेश श्रेष्ठले जानकारी दिए ।
स्क्रब टाइफसमा पनि टाइफाइड ज्वरो जस्तै लक्षण देखिने भएकाले समयमा अस्पतालमा जाँच गर्नुपर्ने र स्वास्थ्य संस्थामा जाँच गरेपछि मात्रै स्क्रब टाइफस भए नभएका बारेमा जानकारी हुने डाक्टर श्रेष्ठको भनाइ छ ।
अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा स्क्रब टाइफसको परीक्षण गरिरहेको छ । उनले भने, ‘केही स्क्रब टाइफसका बिरामीलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था रहेको छ, दैनिकरूपमा नै देखिनुले यसको जोखिम निकै बढी देखिएको छ, यसबाट बच्न जरूरी छ ।’
पछिल्लो समय दिनप्रतिदिन यहाँ ‘स्क्रब टाइफस’का बिरामी देखिन थालेपछि यस रोगको जोखिम पनि बढ्दै गएको छ । अहिले गाउँ-गाउँमा ज्वरोका बिरामी रहेकाले तीमध्ये कसैलाई स्क्रब टाइफस आसंका भएकाले परीक्षण गर्न भनिएको छ ।
वर्षात्मा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । यो समयमा किर्नालगायतका किराले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामी पनि देखिने गरेका हुन् ।
पशुचौपाया घुलमिल हुँदा किर्नाले टोक्ने त्यसपछि स्क्रब टाइफस देखिने गरेको र स्क्रब टाइफसले ज्यानै लिन सक्छ । ‘माइट’ नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।
स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, बान्ता, पेट दुखाइ र पखालाले सताउनु, श्वास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीं कालो दाग जस्ता लक्षण देखिने गर्दछ ।
स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । स्क्रब टाइफसले मस्तिष्क, कलेजो,फोक्सोलगायतमा संक्रमण र कहिलेकाहीं बहुअंक विकार (मल्टी अर्गन डिल्फसन)को अवस्था पनि सिर्जना हुन सक्नेछ ।
यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्नसमेत स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वन जंगलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने तथा शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij