Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

मुक्तिनाथमा दर्शनार्थीको चहलपहल बढ्यो

मुक्तिनाथमा दर्शनार्थीको चहलपहल बढ्यो

  • 391
    SHARES
  • मुक्तिनाथमा दर्शनार्थीको चहलपहल बढ्यो

    मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धारको कामना गर्दै मुस्ताङ दर्शनार्थी पुग्न थालेपछि यहाँ चहलपहल बढेको छ ।

    विशेषतः प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानका साथै भारतबाट समेत पितृ उद्धार हुने विश्वासका साथ यहाँ दर्शनार्थी आउने गर्दछन् ।

    मुस्ताङ पुगेका दर्शनार्थी कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास रहिआएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

    प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानबाट दर्शनार्थी मुक्तिनाथ आउने गरेको उनले बताए । ‘यस वर्ष सोह्र श्राद्धको पहिलो दिन आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ’, उनले भने ।

    ‘पितृले मोक्ष प्राप्त गरी भावी सन्ततिलाई सुख, शान्ति र समृद्धि हुने विश्वासले टाढा-टाढाबाट मन्दिरमा दर्शनार्थी आउने गर्दछन् ।’ मन्दिर आएका दर्शनार्थीले यहाँका एक सय आठ धारामा स्नान गरी पूजाआजा गर्दछन् ।

    एक सय आठ धाराको पानीलाई बोत्तलमा भरेर घरघरमा तीर्थ जलकारूपमा लैजाने प्रचलन छ । प्रकृति र संस्कृतिको अनुपम गन्तव्य मुक्तिनाथ धार्मिक दृष्टिका साथै पर्यटकीयरूपमा पनि उत्तिकै महत्वपूर्ण छ ।

    अघिल्ला दुई वर्ष कोरोना कहरले यहाँको धार्मिक पर्यटन प्रभावित भए पनि यस वर्ष भने पर्यटकको आगमन राम्रो हुने विश्वास लिइएको मुक्तिनाथको मुख्य प्रवेशद्वार रानीपौवाका होटेल व्यवसायी सुरज गुरुङले बताए ।

    मुक्तिनाथ क्षेत्रमा अक्टोबरदेखि विदेशी पर्यटकको चहलपहल हुने गरेको बताउँदै उनले सोह्र श्राद्धको समयमा विशेषगरी आन्तरिक पर्यटकको आगमन अत्यधिक हुने गरेको जानकारी दिए ।

    पछिल्ला वर्षमा चिसोको समयमा समेत दर्शन र अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन् । कोरोना कहरअघिका वर्षमा देखिएको पर्यटकको बढ्दो चापलाई लक्षित गरि मुक्तिनाथको प्रवेशद्वार रानीपौवा र आसपासका क्षेत्रमा पर्यटक लक्षित पूर्वाधारका साथै सुविधा सम्पन्न होटल बन्नेक्रम बढिरहेको गुरुङको भनाइ छ ।

    सडकको पहुँच र यातायातको सुविधा भएपछि पछिल्लो दशकयता मुक्तिनाथमा धार्मिक पर्यटकको आगमन बढिरहेको यहाँका व्यवसायी बताउँछन् । पोखराबाट हवाइ उडान र सडक यातायात दुवैबाट मुक्तिनाथ पुग्न सकिन्छ ।

    पर्यटकको सुविधालाई लक्षितगरी विभिन्न सुविधासम्पन्न यातायातका साधन सञ्चालन भइरहेको यात्री बस प्रालि पोखराका सञ्चालक बोबरजंग गुरुङले बताए ।

    ‘पर्यटकका लागि मुक्तिनाथ जान सुविधासम्पन्न बसका साथै जीपको व्यवस्था गरिएको छ’, उनले भने, ‘सोह्र श्राद्धका साथै अन्य समयमा पनि पोखरा हुँदै मुक्तिनाथ जाने पर्यटकको संख्या बर्सेनि बढिरहेको छ ।’

    हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको संगमस्थल मुक्तिनाथलाई भगवान् विष्णुले तपस्या गरेको पुण्यभूमिकारूपमा लिइन्छ । तपस्याका क्रममा विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको एक सय आठ धारा यहाँ रहेको प्राचीन किंवदन्ती छ ।

    समुद्री सतहबाट तीन हजार सात सय १० मिटर उचाइमा रहेको मन्दिर परिसरका धारामा बाह्रै मास पानी आइरहनुलाई धार्मिक महत्वकारूपमा हेरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij