वेबटिभी खबर
बाग्लुङ । बाग्लुङ बजारको रामरेखा निवासी चित्रकुमारी रोकाले छ महिना देखि ‘लेडिज टेलरिङ’ नामक कपडा सिलाउने पसल सञ्चालनमा ल्याएकी छिन् ।
उनले आफ्नै कपडा पसल सञ्चालन गर्ने सोचसमेत बनाएकी थिएन तर बाग्लुङमा रहेको धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्रले प्रदान गरेको चार महिने सीपमूलक तालिमपछि उनले आफ्नै खुट्टामा उभिन सफल भइन् ।
रोका मात्रै हैन बाग्लुङ नगरपालिका-८ सिगाना निवासी पूजा परियारले बाग्लुङ एफएम चोकमा आफ्नै कपडा सिलाइ कटाइ पसलको स्थापना गरेकी छिन् । रोका र पूजा त एक उदारणीय पात्र मात्रै हुन् ।
केन्द्रले दिएको सीपमूलक तालिम प्राप्त गर्ने अधिकांशले रोजागारी पाएका छन् भने केहीले आफैँ उद्यम स्थापना गरेका छन् ।
‘फुर्सदको समय सदुपयोग गरौँ भनेर तालिमका लागि केन्द्रमा पुगे, चार महिना तालिम सकेपछि मनमा व्यवसाय गर्ने उत्साह छायो, कपडा सिलाइ तालिमपछि आफ्नै पसल राखे, अहिले आफ्नो घर खर्च चलाउन सक्ने भएकी छु’, तालिमपछि आफ्नै व्यवसाय सञ्चालन गरेकी रोकाले भनिन् ।
‘सिलाइ कटाइको पहिलो चरणको सीपमूलक तालिमसमेत उत्तीर्ण गरी प्रमाणपत्र पाउँदा खुसी लागेको छ ।’ टेलरिङ तालिमबाट विशेष गरी एकल महिला, दलित र जनजाति महिला बढी लाभान्वित भएका छन् ।
सिलाइ कटाइ तालिम मात्रै नभएर विद्युतीय र ग्रिल उद्योग तालिम प्राप्त युवाले समेत अहिले राम्रो काम पाइरहेका छन् । तालिमपछि वैदेशिक रोजगारीका लागि सहज हुने र नेपालमा समेत आफ्नो खर्च धान्न सक्ने काम पाइने भएकाले विद्युतीय जडानको तालिम सिकेको पर्वत जिल्ला स्थित पाङका सुजन नेपालीले बताए ।
केन्द्रले चार सय २५ जनालाई चार प्रकारका सीपमूलक तालिम दिएर आत्मनिर्भरको बाटोमा हिँडाएको छ । केन्द्रले निःशुल्करूपमा विद्युत् जडान, पम्पिङ, सिलाइकटाइ र ग्रिल उद्योगको तालिम दिँदै आएको छ ।
एकल महिला, दलित, पिछाडिएको वर्ग र एकल महिलालाई प्राथमिकतामा राखेर सीपमूलक तालिम दिइरहेको केन्द्रका अध्यक्ष केबी रानामगरले बताए ।
‘हामीले तालिम दिएका धेरैले रोजगारी पाएका छन् केहीले विदेश गएपछि समेत राम्रो काम पाएका छन्, केहीले त आफ्नै व्यवसाय सुरु गरेको पाइएको छ’, मगरले भने, ‘हामीले धेरै भन्न सकिँदैन तालिम दिएका प्रशिक्षार्थीले आफ्नो रोजीरोटीका लागि सहयोग पुगेको छ जुन उनीहरूले गरेको कामबाट पुष्टि भइसकेको छ ।’
केन्द्रले हालसम्म चार सय २५ लाई तालिम दिइसकेको केन्द्रका प्रोजेक्ट म्यानेजर शालिकराम शर्माले जानकारी दिए । शर्माका अनुसार एक सय २२ ले प्लम्बर, ४५ ले विद्युतीय जडान सम्बन्धी, एक सय ९५ ले सिलाइकटाइ र ६३ ले ग्रिल उद्योग सम्बन्धी तालिम प्राप्त गरेको उनले बताए ।
तालिम प्राप्त गर्नेमध्ये दुई सय ८७ ले रोजगारी पाएको र ५७ ले आफ्नै व्यवसाय सञ्चालन गरेको र सात जना वैदेशिक रोजगारीका लागि गएको शर्माले जानकारी दिए ।
केन्द्रको रेकर्ड अनुसार तालिम प्राप्त गरिसकेपछि औसतमा विद्युत्को काम गर्नेले १९ हजार, टेलरिङको काम गर्नेले १३ हजार, ग्रिलको काम गर्नेले १८ हजार र प्लम्बरको काम गर्नेले १५ हजारसम्म आम्दानी गर्ने गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij