Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

चितवनका ९ जनामा जापनीज इन्सेफ्लाइटिस संक्रमण 

चितवनका ९ जनामा जापनीज इन्सेफ्लाइटिस संक्रमण 

  • 414
    SHARES
  • चितवनका ९ जनामा जापनीज इन्सेफ्लाइटिस संक्रमण 

    चितवन । चितवन जिल्लामा जापानीज इन्सेफ्लाइटिसका संक्रमित भेटिएका छन् । शंकास्पद २२ जनाको नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

    जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा-१२ जनाको परीक्षणमा ४ जना, माडीमा ५ जनाको परीक्षणमा २ जना, राप्तीमा दुई जनाको परीक्षणमा एक जना, कालिका नगरपालिकामा एक जनाको परीक्षणमा एकजनामा र रत्ननगरमा दुई जनाको परीक्षणमा एक जनामा संक्रमण देखिएको हो ।

    साउनको १५ गतेदेखि बिरामी देखिन थालेकोमा भदौ १८ गते यो संख्या बढेर ९ पुगेको छ । यहाँ परीक्षण गर्दा नमूनामा संकास्पद देखिएपछि नमूनालाई काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

    कार्यालयका प्रमुख दुर्गादत्त चापागाईका अनुसार संक्रमितमध्ये जटिल अवस्थाका दुई जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । माडीमा एक वृद्ध नागरिक अर्धचेत अवस्थामा रहेका छन् । अन्यको अवस्थाको बारेमा जानकारी लिने काम भइरहेको भए पनि अहिलेसम्म रोगका कारण कसैको मृत्यु नभएको उनले जानकारी दिए ।

    भरतपुर अस्पतालका प्रवक्ता फिजिसयन डा.गोविन्द कँडेलले सुंगुर र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा यो रोग सर्ने बताउछन् । मानिसबाट मानिसमा यो रोग सर्दैन ।

    अहिले जिल्लाका ग्रामीण क्षेत्रमा यो रोग बढी देखिएको छ । यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने, बेसुरको हुने, कहिलेकाहीँ बेहोस हुने, छारे रोगको झै शरीरमा कम्पन आउने उनले जानकारी दिए ।

    क्यूलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने चितवन स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले बताए । उनले ग्रामीण क्षेत्रमा सुंगुर र हाँस पालिएको ठाउँ वरिपरी रहँदा विशेष ख्याल गर्न र रोगको आशंका भएमा तत्काल उपचार गर्न आग्रह गरे ।

    कार्यालयले बिरामीको संख्या एकाएक बढेपछि अस्पताल र पालिकाका स्वास्थ्य प्रमुखसँग आज छलफल गरी तत्काल तथ्यांक कार्यालयमा पठाउने व्यवस्था मिलाउन र आशंका देखिएका बिरामीलाई उपचारको प्रबन्ध मिलाउने विषयमा छलफल गरेको छ ।

    सो अवसरमा विश्वस्वास्थ्य संगठनका कर्मचारीको पनि उपस्थिति थियो । स्वास्थ्य संगठनले पछिल्ला दिनमा रोग देखिएका बिरामी र तीनका परिवारलाई भेटघाट गरी अवस्था बारेमा बुझ्ने काम गरिरहेको छ ।

    जापानीज इन्सेपफ्लाइटिसबाट बच्नका लागि लामुखट्टको टोकाइबाट बच्नु र लामखुट्टे नियन्त्रण गर्नु नै मुख्य उपाय हो । त्यसैगरी बालबालिकालाई यो रोगविरूद्ध खोप लगाउने, सुंगुर, बुंगुर, हाँस, घोडाजस्ता घरपालुवा जनावरलाई व्यस्थित ढंगले पाल्ने, पशुपक्षीको खोर घरभन्दा टाढा राख्ने र सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनोजाली हाल्ने गर्नुपर्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij