वेबटिभी खबर
चितवन । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि चितवन जिल्लामा एउटा मतदानस्थल थपिएको छ, भने ९ वटालाई स्थानान्तरण गरिएको छ।
मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिको बैठकले माडी नगरपालिका-२ स्थित जीवनपुर राष्ट्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रलाई विभाजन गरी देवीस्थानमा थप गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार त्यस केन्द्रमा मतदान गर्नका लागि मतदाता तीन घण्टासम्म हिँडेर आउनुपर्ने भएकाले केन्द्र विभाजन गरी थप गर्ने निर्णय गरिएको हो ।
उनका अनुसार दुई वटा केन्द्रको त्रुटी सच्याउने र ९ वटा केन्द्र स्थानान्तरण गर्ने काम गरिएको हो । कार्कीका अनुसार ९ मतदान केन्द्र मतदातालाई पायकपर्ने स्थानमा स्थानान्तरण गरिएको छ ।
विद्यालय गाभिएका, भौतिक संरचना निर्माण भई कम्पाउण्ड साघुरो भएका केन्द्रलाई स्थानान्तरण गरिएको हो । मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०७७ अनुसार केन्द्र आफ्नै वडामा हुनुपर्ने भएकाले दुई केन्द्र वडामा सारिएको कार्कीले जानकारी दिए ।
उनका अनुसार भरतपुर महानगरपालिका-८ मा रहेको शरदपुर माध्यामिक विद्यालय मतदानस्थललाई वडा नं-९ मा रहेको शरदपुर माध्यामिक विद्यालय प्राविधिक शिक्षालयमा सारिएको छ ।
यस्तै राप्ती नगरपालिका-२ मा रहेको बुद्धशान्ति क्याम्पसको मतदानस्थललाई राप्ति नगरपालिका-३ को वडा कार्यालयमा स्थानान्तरण गरिएको छ । यी दुवैस्थल वडा बाहिर रहेका थिए ।
जिल्ला निर्वाचन कार्यालयले गत असार १ गतेदेखि सुरु गरेको नामावली संकलन कार्यमा नयाँ नाम दर्ता गर्नेको संख्या १४ हजार ७३१ जना रहेको छ । जिल्लाका १२ हजार ९६३ जना रहेको कार्यालयका प्रमुख कार्कीले जानकारी दिए ।
जिल्लाको तीन स्थानबाट गरिएको नामावली संकलनका क्रममा उनीहरूले नाम दर्ता गराएका हुन । नाम दर्ता गराउनेमध्ये एक हजार ७६८ जना बाह्य जिल्लाका छन् । उनीहरूले यहाँ नामावली दर्ता गराएको भएपनि सम्बन्धित जिल्लामा नै पठाइने उनले बताए ।
स्थानीय तहको निर्वाचन २०७९ मा जिल्लामा ३ लाख ९७ हजार ६८५ मतदाता थिए । जिल्लामा १६१ मतदानस्थलमा ४५१ मतदान केन्द्र थिए । संघीय र प्रदेशसभा निर्वाचनमा मतदानस्थल थप भएसँगै केन्द्रसमेत थप हुने कार्कीले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij