Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

मेरो फाइदाका लागि फुटबल डुबाउँदिन : प्रशिक्षक केसी

मेरो फाइदाका लागि फुटबल डुबाउँदिन : प्रशिक्षक केसी

  • 411
    SHARES
  • मेरो फाइदाका लागि फुटबल डुबाउँदिन : प्रशिक्षक केसी

    काठमाडौं । नेपाल यू-२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले भारतसँगको लज्जास्पद हारसँगै साफ च्याम्पियनसीप फुटबलको फाइनल स्थान बनाउन असफल भए पदबाट राजीनामा दिने संकेत गरेका छन् ।

    आइतबार राति भारतसँग ८-० अन्तरको हारसँगै नेपालको फाइनल पुग्ने सम्भावना कम बनेको छ । यसअघि सुरुवाती दुई खेलमा सतप्रतिशत जितसहित फाइनल सम्भावना उच्च बनाएको नेपाल भारतसँग पराजित हुँदा भने फाइनलमा स्थान बनाउन कठिन अवस्थामा पुगेको छ ।

    अब नेपालले फाइनलमा स्थान बनाउन अन्तिम खेलमा बंगलादेशलाई हराउनुपर्ने छ । यदि मात्रै हैन कम्तीमा ५-० को जित निकाल्नुपर्नेछ । खेल भोलि (मंगलबार) हुनेछ । आइतबार भारतसँग भएकाे खेलमा नेपाल पहिलो हाफमा एक गोल बेहोर्दा दोस्रो हाफमा सात गोल बेहोर्न पुगेकाे थियाे ।

    खेलाडीहरूमा अनुभवको कमी भएका कारण भारतसँग हार ब्यहाेर्नु परेकाे प्रशिक्षक मेघराज केसीकाे भनाइ छ । उनले भने, ‘ अनुभवकाे कमी छ तर क्षमता पनि त्यत्तिकै छ । आज सबै हजुरहरूलाई खुसी दिन नसकेकोमा धेरै दुःखी छौ । खेलाडी र एन्फालाई दोष नदिउँ । यो मेरो गल्ती हो ।’

    यस्तै केसीले टोलीलाई लयमा फर्काउन दुई दिनको समय रहेको र यदि फाइनल नपुगेका आफ्नो स्वार्थका लागि फुटबल डुबाएर पदमा नबस्ने घोषणा गरेका छन् ।

    उनले भने, ‘मसँग टोलीलाई हारबाट माथि उठाउन दुई दिनको समय छ । अन्यथा म पद छोड्ने छु । म फुटबल जीवनबाट अलग हुनेछु । म मेरो फाइदाका लागि फुटबल डुबाउन सक्दिन।’

    यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४-० र दोस्रो खेलमा श्रीलंकालाई ३-० अन्तरले पराजित गरेको थियो । पहिलोपटक यू-२० पद्धतिमा आयोजना भएको साफको तालिकाको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

    पाँच टोली सहभागी प्रतियोगितामा लगातार हारसँगै श्रीलंका र माल्दिभ्स बाहिरिसकेका छन् । यता बंगलादेशको तीन खेलबाट नौ अंक रहँदा नेपाल र भारतको समान ६ अंक छ । हेड टु हेडमा भारत बलियो छ र दोस्रो स्थानमा छ ।

    अब अन्तिम दिन नेपालले बंगलादेशलाई कम्तीमा ५-० को जित निकाल्नुपर्नेछ । त्यो भन्दा सानो अन्तरको जितलेसमेत नेपाल फाइनल पुग्नबाट गोल अन्तरको आधारमा बञ्चित हुनेछ । सोही दिनको दोस्रो खेलमा भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

    यसअघि यही प्रतियोगिता यू-१९ र यू-१८ को रूपमा आयोजना हुँदा नेपाल अघिल्ला दुवै संस्करणको विजेता हो । अन्तिम संस्करण भने नेपाल समूह चरणबाट माथि उढ्न सकेन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने केसीलाई साफसँगै एएफसी यू-२० पुरुष एसियन कप छनोटका लागि प्रशिक्षकमा नियुक्त गरेको हो ।

    करिब सात सय खेलाडीको खुल्ला छनोटबाट अन्तिम २३ खेलाडी छनोट गरेका केसीले बहराइनमा हुने छनोट खेलका लागिसमेत नियुक्ति पाएका छन् । समूह बी मा रहेको नेपालले छनोटमा कतार, भुटान, आयोजक बहराइन र बंगलादेशको सामना गर्ने छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij