वेबटिभी खबर
बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय नाघेको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार थप १९ मा संक्रमण देखिएसँगै सक्रिय संक्रमितको सङ्ख्या एक सय नाघेको हो । हाल यो प्रदेशमा सक्रिय संक्रमित एक सय १६ रहेका छन् ।
जसमा सबैभन्दा बढी कैलालीमा ७५, कञ्चनपुरमा ३५ र बैतडीमा ६ जना सक्रिय संक्रमित रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कुनै बेला शून्यमा झरेको कोरोना संक्रमणदर हाल बढ्दै गएसँगै जोखिम बढेको हो ।
सीमा जोडिएको प्रदेश भएकाले भारतमा संक्रमणदर बढ्दै गएकाले त्यसको प्रभाव सुदूरपश्चिममा पनि देखिन थालेको निर्देशनालयका कोभिड-१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
गत असार ३२ गते शून्यमा झरेको संक्रमणदर त्यसयता बढ्दै गएको छ । उनले भने, ‘भारतमा कोरोना संक्रमण बढ्दै गएकाले सीमा जोडिएको प्रदेश सुदूरपश्चिममा पनि देखिन थालेको छ । जोखिम बढ्दै गएकाले सतर्कता अपनाउन थालिएको छ ।’
पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो । सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तररूपमा भइरहेको छ ।
उनले भने, ‘जोखिम बढेकाले भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । कैलाली र कञ्चनपुरमा १/१ एक हजार शय्याका होल्डिङ सेन्टर निर्माण सम्पन्न हुँदैछन् ।’
यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरूद्धको खोप अभियानलाई प्राथमिकतामा राख्दै बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तररूपमा सञ्चालनमा रहेको जोशीको भनाइ छ ।
उनले भने, ‘सीमा क्षेत्रमा स्वास्थ्य परीक्षणमा कडाइ, खोप कार्यक्रममा तदारुकता गरेका छौं ।’ सुदूरपश्चिम प्रदेशमा हालसम्म ५ लाख ५८ हजार २ सय १२ को कोरोना परीक्षण गरिएकोमा ५९ हजार ८ सय ६७ मा संक्रमण पुष्टि भइसकेको छ ।
संक्रमणकै कारण यस प्रदेशमा ६ सय ३३ को ज्यान गइसकेको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा समेत कोरोना संक्रमण बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरूपमा पालना गर्न निर्देशनालले आग्रह गरेकाे छ ।
भीडभाडमा नजान, घर बाहिर जाँदा अनिवार्य मास्कको प्रयोग गर्न, कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएमा परीक्षण गर्न, सामाजिक दूरी कायम गर्न आग्रह गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij