वेबटिभी खबर
काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले अहिलेको समाजले हरेक क्षेत्रमा असल नेतृत्व खोजिरहेको बताए ।
उनले नेकपा (एकीकृत समाजवादी) काभ्रेको सम्पूर्ण जनवर्गीय संगठनद्वारा शनिबार धुलिखेलमा आयोजित पार्टीको तर्फबाट नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान समाजले हरेक क्षेत्रमा असल नेतालाई नेतृत्वमा पुर्याउनुपर्छ भन्ने आवाज उठाउन थालेको बताए ।
उनले भने, ‘वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनले असल नेतालाई नेतृत्वमा पुर्याउनुपर्छ भन्ने सन्देश दिएको छ । अब हामीले हाम्रा बोली-व्यवहार, मनोविज्ञान, दृष्टिकोण र आचरण सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ ।’
मन्त्री चौधरीले मुलुकले गुणस्तरीय नेतृत्व खोजिरहेको उल्लेख गर्दै चरित्रवान नेतामात्रै मुलुकको नेतृत्वमा पुग्नसक्ने बताए ।
कार्यक्रममा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवम् संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटाले दिउँसो समाजवादको नारा घन्काएर राति पूँजीवादीको चाकडी नत्यागेसम्म समाजवादको यात्रा सफल नहुने बताए ।
उनले भने, ‘अवसरको समानता नै समाजवाद हो, यसका लागि निश्चित कार्यक्रम हुनुपर्छ । उत्पादनको साधनमा समानता प्राप्त गर्नुपर्दछ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij