वेबटिभी खबर
काठमाडौं । नागरिक सञ्चार प्रालिद्वारा स्थापित ‘ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार-२०७९’ बाट राष्ट्रिय समाचार समिति (रासस)का प्रधानसम्पादक एकराज पाठक सम्मानित भएका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘नयाँ विश्व’ अनलाइन पत्रिकाको पाँचौं वार्षिकोत्सव समारोहमा वरिष्ठ अधिवक्ता एवम् पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले उनलाई पुरस्कार समर्पण गरेका हुन् ।
पुरस्कारको राशि १० हजार रहेको छ । २००८ मा प्रकाशित बाग्लुङको पहिलो हस्तलिखित पत्रिका ‘सही बाटो’का सम्पादकरप्रकाशक ओमकार गौचनको नाममा स्थापित उक्त पुरस्कार पहिलो पटक राससकर्मी पाठकलाई प्रदान गरिएको प्रालिका सचिव मुकेशचन्द्र राजभण्डारीले जानकारी दिए ।
दुई वर्षअघि दिवंगत भएका गौचन पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत भएका थिए । २०४८ को संसदीय निर्वाचनमा गौचन नेपाली कांग्रेसका तर्फबाट बाग्लुङ-३ को सांसदमा निर्वाचित भएका थिए । समाजसेवामा पनि उत्तिकै क्रियाशील उनले लुम्बिनी विकास कोषको उपाध्यक्षसमेत भएर काम गरेका थिए ।
‘पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप वरिष्ठ पत्रकार पाठकलाई सम्मानित गरिएको हो’, ‘नयाँ विश्व’का सम्पादकसमेत रहेका राजभण्डारीले भने । २०३१ मा बाग्लुङमा जन्मेका पाठक विगत २५ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् ।
आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर उनीसँग सोही विषय अध्यापनको अनुभवसमेत छ । पाठकका पत्रकारिता विषयका पुस्तक तथा प्राज्ञिक लेख/रचना प्रकाशित छन् ।
२०५६ मा समाचारदाताकारूपमा राससमा सेवा आरम्भ गरेका पाठक हाल प्रधानसम्पादकको जिम्मेवारीमा छन् । सोही समारोहमा चिकित्सक सागरकुमार राजभण्डारीलाई ‘नयाँ विश्व सम्मान-२०७९’ प्रदान गरिएको थियो ।
२०१९ मा बाग्लुङमा जन्मेका राजभण्डारी सरकारी सेवाबाट निवृत्त भई हाल भक्तपुरको सूर्यविनायक नगर अस्पतालमा कार्यकारी निर्देशककारूपमा कार्यरत छन् । उनले कोभिड-१९ को महाव्याधिका बेला पहिलो पटक संक्रमितको उपचार सेवा सुरु गर्ने टेकु अस्पतालको कार्यकारी निर्देशक भएरसमेत काम गरेका थिए ।
नेपालमा कोभिड-१९ विरूद्वको खोप लगाउने पहिलो व्यक्ति पनि राजभण्डारी नै हुन । त्यसअघि उनले बाग्लुङस्थित धवलागिरि अस्पताल, पर्वत जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्थामा प्रमुख चिकित्सककारूपमा रही नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij