Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सुन्तलाका बिरूवा बेचेर चार लाख आम्दानी

सुन्तलाका बिरूवा बेचेर चार लाख आम्दानी

  • 487
    SHARES
  • सुन्तलाका बिरूवा बेचेर चार लाख आम्दानी

    बागलुङ । बहुआयामिक सफल कृषकको रूपमा परिचय बनाएका बागलुङका केदार आचार्यले सुन्तलाका बिरूवा बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन् ।

    बाग्लुङको जैमिनी नगरपालिका-१० राङखानीका आचार्यले यस वर्ष नर्सरीबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् । २०७३ देखि व्यावसायिक कृषि सुरु गरेका आचार्यले २०७७ सालमा नर्सरी सुरु गरेका थिए ।

    अघिल्लो वर्ष ५ हजार अलैंचीका बिरूवा बेचेर २५ हजार आम्दानी गरेका आचार्यले यस वर्ष सुन्तलाका बिरूवा बेचेर ४ लाख २० हजार आम्दानी गरेका छन् । आचार्यले यस वर्ष बेच्न मिल्ने गरी १५ हजार सुन्तलाका बिरूवा तयार गरेका थिए ।

    स्थानीय प्रजाति सुन्तलाका १५ हजार बिरूवा उत्पादन गर्दा आचार्यको प्रतिबिरूवा १८ लागत लागेको छ । १५ हजार बिरूवा उत्पादन गर्दा २ लाख ७० हजार लगानी भएको आचार्यले बताए ।

    सरकारी दरअनुसार प्रतिगोटा संस्थालाई २५ र व्यक्तिलाई ५० मा बेच्न मिल्ने भए पनि सोही दरअनुसार बिक्री गर्न नसिकएको आचार्यको भनाइ छ । उनले १० हजार बिरूवा २७ र अन्य ३ हजार बिरूवा गुणस्तर हेरेर ३५, ४५ र ५० दरले बिक्री गरेको जानकारी दिए ।

    आचार्यको नर्सरीबाट जैमिनी नगरपालिकाको कृषि शाखा र जैमिनीकै भगवती अलैंची पकेट समूहले पाँच/पाँच हजार बिरूवा खरिद गरेका गरेका छन् । त्यसैगरी कृषि ज्ञान केन्द्र बाग्लुङले २ हजार ५०० बिरूवा खरिद गरेको आचार्यले बताए ।

    उनको नर्सरीमा अझै २ हजार बिक्री गर्न मिल्ने बिरूवा रहेका छन् । अन्य ५०० बिरूवा व्यक्तिले खरिद गरेको आचार्यको भनाइ छ । जैविक कृषि फार्म दर्ता गरेर गड्यौला खेती, तरकारी खेती गर्दै आचार्यले पछिल्लो समय नर्सरीबाट समेत राम्रो आम्दानी गर्न थालेका हुन् ।

    उनको नर्सरीमा हिउँदमा बेच्नका लागि ५०० ओखर (बिजु) र १ हजार किवीका कलमी गरेका बिरूवा तयार भएका छन् । आगामी वर्षका लागि पर्वतको बासखर्कको स्थानीय प्रजाति र तेह्रथुमको खोको प्रजातिका सुन्तलाका १५ हजार बिरूवा तयार हुँदै गरेको आचार्यको भनाइ छ ।

    उनको नर्सरीमा आगामी वर्षका लागि सुन्तलाका १ हजार ५०० कलमी र ५०० कागतीका बिरुवासमेत बेच्नका लागि तयार हुने छन् । लगाएको छोटो समयमै उत्पादन दिने भएर पछिल्लो समय कलमी बिरूवाको माग बढ्दै गएको हुँदा विस्तारै बिजु बिरूवा कम गरेर कलमीमा जोड दिने आचार्य बताए ।

    बिजु बिरूवाले लगाएको तीन वर्षमा उत्पादन दिन सुरु गर्ने र सातदेखि १० वर्षमा परिपक्क हुने भए पनि कलमी बिरूवा रोपेकै वर्षमा उत्पादन दिन सुरु गर्ने र तीन वर्षमा राम्रो उत्पादन दिन सुरु गर्ने भएकाले कृषकको रोजाइमा कलमी बिरूवा पर्न थालेको आचार्यको भनाइ छ ।

    करिब २० रोपनी जमिनमा कृषि गर्दै आएका आचार्यले संरचना र विविध औजारमा मात्र ५० लाख लगानी गरेका छन् । जडीबुटी संकलनको काम गर्न थालेका आचार्यले आगामी वर्षबाट सतुवा र अस्वगन्धजस्ता जडीबुटीको समेत नर्सरी सुरु गर्ने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij