वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष गणेशप्रसाद लकान्द्रीले पदबाट राजीनामा दिएका छन् । लकान्द्रीले गत असार २८ गते पदबाट राजीनामा दिएको आज आइतबार जनाएका हुन् ।
विज्ञप्तिमा उनले भनेका छन्, ‘वर्तमान अवस्थामा मेरो पदीय दायित्व मात्र फेरिएको हो । यस मञ्चको सफलताको लागि खेलिने भूमिकामा कदापी कमी हुने छैन । यस मञ्चलाई शिखरतर्फ डोर्याउने कार्यमा सदैव एक सिपाहीको रूपमा लागि परिरहने छु । मेरो पदभन्दा ठूलो यस मञ्च हो र यसलाई जसरी पनि बचाउनुपर्छ भन्ने मूलमन्त्रको साथमा मैले मेरो पदबाट राजीनामा दिएको छु ।’
विज्ञप्तिमा लकान्द्रीले आफू र मञ्चप्रति लागेका आरोपहरू कपोकल्पित र निराधार थियो भन्ने प्रमाणित भएको उल्लेख गरेका छन् ।
धेरै संघर्ष गरेर मञ्च जन्माएको बताउँदै उनले भनेका छन्,‘मेरो मानसपटलमा बिगतका ती दिनहरू झलझली आइरहेको छ । जुनबेला हामी सम्पूर्ण निजी कामहरू थाँती राखेर यस मञ्चको स्थापनाको लागि घर, गल्ली र पसलहरू चहार्नु परेको थियो । त्यतिबेलाको कठोर मेहनत र परिश्रमको प्रतिफल नै हो आजको राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च । जुन आजको दिनमा सुनचाँदी क्षेत्रमा लागेका व्यवसायीहरूको आशाको केन्द्रविन्दु बनेको छ र राष्ट्रिय रूप धारण गरेको छ ।’
मञ्चलाई आफूले आफ्नो सन्तानको रूपमा हेरेको बताउँदै लकान्द्रीले एकमुठी सास रहँदासम्म मञ्चको रक्षामा लागि रहने पनि बताएका छन् ।
‘यस मञ्चको जन्मदाताको पीडा म स्वयंमले भोगेको छु । म यस मञ्चको अध्यक्ष पदमा रहनु वा नरहनु गौण कुरा हो । प्रथम कार्य भनेको यो मञ्च विधानसम्मत नीति नियमको परिधिभित्र रहनु पर्यो र म मञ्च सदैव जीवित रहनुपर्यो,’ उनले विज्ञप्तिमा भनेका छन् ।
उनले नयाँ बन्ने तदर्थ समितिलाई शुभकामना दिँदै विगतका तितामिठा क्षणहरू बिर्सिएर अगाडि बढ्ने विश्वास लिएका छन् ।
विज्ञप्ति
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij