वेबटिभी खबर
बैतडी । वर्षाका कारण बैतडीमा दुई घर र विद्यालय भवन पहिरोको जोखिममा परेका छन् ।
जिल्लाको श्रीभावर-हाट सडकखण्डमा पहिरो खस्दा पुर्चौंडी नगरपालिका ६ स्थित भटेडी भन्ने स्थानमा पहिरो खस्दा स्थानीय मानवीर धानुकका दुई घर पहिरोको जोखिममा परेका हुन् ।
पहिरोले घरको आँगनमा क्षति पुर्या एको र पानी पर्ने क्रम जारी रहेकाले थप क्षति बढ्न सक्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट जोखिमयुक्त क्षेत्रको निरीक्षण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, पुर्चौंडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूले उक्त ठाउँमा पुगेर पीडित परिवारलाई सहयोग गर्ने बचन दिएका छन् ।
अनुगमनका क्रममा जोखिममा रहेका परिवारलाई अस्थायी बसोबासका लागि नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराउने, उक्त घरमा थप क्षति हुन नदिन पूर्वाधार विकास कार्यालयका तर्फबाट पर्खाल निर्माण गर्ने र क्षतिको विवरण संकलन गरी आवश्यक सहयोगका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
यस्तै दशरथचन्द नगरपालिका १ स्थित जगदम्बा आधारभूत विद्यालय पनि पहिरोको उच्च जोखिममा परेको छ । लगातारको बर्षाका कारण विद्यालयको आँगन जोगाउन लगाइएको पर्खाल भत्किएको छ ।
करिब ३० मिटर लामो पर्खाल भत्केर भीर बनेको विद्यालयका शिक्षक अम्बादत्त बडुले बताए । आँगन जोगाउन लगाइएको पर्खाल भत्किएपछि विद्यालय भवनसमेत जोखिममा परेको हो ।
वर्षासंगैको हावाहुरीले बैतडीको पुर्चौडी नगरपालिका २ स्थित समैजी आधारभूत विद्यालयको चार कोठे भवनको छानो उडाएको छ । हावाहुरीले उक्त विद्यालयका ४ कोठाको जस्तापाता उडाएको शिक्षक जनबिक्रम धानुकले जानकारी दिए ।
छाना उडाउँदा ४ लाख ५० हजार बराबरको धनमाल क्षति भएको विद्यालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij