Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

मल नपाउँदा ४५ प्रतिशत मात्र रोपाइँ

मल नपाउँदा ४५ प्रतिशत मात्र रोपाइँ

  • 346
    SHARES
  • मल नपाउँदा ४५ प्रतिशत मात्र रोपाइँ

    सर्लाही । असार महिना सकिन लाग्दा सर्लाहीमा ४५ प्रतिशत मात्र धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले विगत वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यसवर्ष अलि छिटो भएको बताएका छन्।

    गतवर्ष यसबेलासम्म करिब ८० प्रतिशत बढी क्षेत्रफलमा किसानले धान रोपिसकेको ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । मल, सिँचाइ लगायतको समस्याका कारण धान रोपाइँमा ढिलाइ भएको जिल्लाका किसानको गुनासो छ ।

    नियमित पानी नपरेको कारण रोपाइँ गर्न समस्या भएको हरिवन नगरपालिका-२ का किसान रामपुकार महतोले बताए । धेरै किसानको खेतमा बीउ छिप्पी सक्दा पनि मलको अभावले समयमै धान रोप्ने काम सुरु नभएको रमेश अधिकारीले जानकारी दिए ।

    मल कुर्दा कुर्दै धानको ब्याड बिग्रदै गएको उनको भनाइ छ । केही किसानले भने महँगोमै भए पनि भारतीय रासायनिक मल किनेर धान रोपेका छन् । यसरी आएको मल बोराको २ हजार २०० सम्ममा खरिद गर्नुपरेको किसानको गुनासो छ ।

    मल ल्याउँदा सीमामा द्रुव्यवहारसमेत भोग्नु परेको किसान दीपेन्द्र महतोले गुनासो गरे । वाग्मती सिचाइँमा पानी ढिलोगरी सञ्चालन हुँदा पनि किसानले समयमा धान रोपाइँ गर्न नपाएको बताइएको छ ।

    वाग्मती सिचाइँले मूल नहर मर्मत, सफाइ, नहरको ढोका निर्माण, मर्मत लगायतको काम स्थानीय निकायको निर्वाचनले गर्दा ढिलागरी ठेक्का लगाएको र काम ढिला सकिएकाले पानी सञ्चालनमा ढिलाइ भएको वाग्मती भूमिगत जलस्रोत सिँचाइ आयोजनाले जनाएको छ ।

    सिँचाइले नहरमा गत मंगलबारबाट पानी छोडेको हो । पानी सञ्चालन भएपछि नहर नजिकैका किसानले धमाधम धान रोपाइँ सुरु गरेका छन् । यसवर्ष धान रोपाइँ ढिला भएकाले उत्पादनसमेतमा कमी हुने कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमल देवप्रसाद कुशबाहले बताए ।

    उनका अनुसार समयमै मल नपाउनु, वाग्मती नहरमा पानी समयमै नछाडिनु लगायतका कारण धान रोपाइँ ढिलो भएको र मौसमको समेत प्रभाव पर्ने भएकाले धान उत्पादनमा घट्न सक्नेछ ।

    पम्पसेट तथा बोरिङको पानी लगाएर धान रोपाइँ गर्ने किसानसमेत दर्के पानीको पर्खाइमा छन् । जिल्लामा हरेक वर्ष ४६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ ।

    मधेस प्रदेशमा चैते र बर्खे दुबै मिलाएर वार्षिक १४ लाख १६ हजार ५८५ मेट्रिक टन धान उत्पादन हुने गरेको छ । यस प्रदेशमा ४ लाख ३ हजार ६४९ हेक्टर खेतीयोग्य जग्गा रहेको कृषि ज्ञान केन्द्र सर्लाहीको तथ्यांकमा उल्लेख छ ।

    जिल्लाका किसानलाई मागेजति मल पुर्‍याउन नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा सर्लाहीका प्रमुख दीपक थापा मगरले बताए । उनका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन सर्लाही शाखाले जिल्लाका किसानलाई मल तथा बीउबिजन उपलब्ध गराउँछन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij