वेबटिभी खबर
काठमाडौं । पछिल्लो समय पत्रकारिता तथा मिडिया क्षेत्रमा आचार संहिताको उल्लंघन बढ्दै गएकाले संहिता पालनातर्फ ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले सञ्चारकर्मी तथा पत्रकारको निम्ति आयोजना गरेको ‘पत्रकार आचार संहिता र निर्वाचन आचार संहिता’सम्बन्धी दुई हप्ताको पत्रकारिता तालिम समापन कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले भर्चुअल माध्येमबाट समापन गर्दै पत्रकारिता तथा मिडिया क्षेत्रमा आचार संहिताको उल्लंघन निकै बढेको बताएका हुन् ।
उनले आचार संहिता उल्लंघन बढ्दै गएकाले काउन्सिलले केही समययता पत्रकार आचार संहितासम्बिन्ध तालिमलाई व्यापक बनाउँदै लगेको समेत बताए ।
उनले भने, ‘आचार संहिता उल्लंघन गढ्दै गएको छ, प्रेस काउन्सिलमा सूचीकृत अनलाइन न्यूज पोर्टलका सञ्चालक, सम्पादक तथा अन्य पत्रकारसमेतलाई पत्रकार आचार संहिता अभिमुखीकरण अनिवार्य गरिएपछि भने केही मात्रामा कमी आएको छ ।’
त्यसैगरी नेपाल प्रेस इन्ष्टिच्यूटका महासचिव तथा कार्यकारी निर्देशक लक्ष्मण उप्रेतीले तालिमले आगामी मंसिरमा हुने संघीय तथा प्रादेशिक चुनावमा सकारात्मक प्रभाव देखिने विश्वास व्यक्त गरे । इन्ष्टिच्यूटले विगत ३८ वर्षदेखि निरन्तर अनुशासित र कर्तव्यनिष्ट पत्रकार उत्पादनमा लागिरहेको छ ।
तालिममा पत्रकार आचार संहिता, २०७३, लैंगिक उत्तरदायी निर्देशिका, अपाङ्गता मैत्री निर्देशिका, बालमैत्री निर्देशिका, ज्येष्ठ नागरिक निर्देशिका, निर्वाचन आचार संहिता तथा भाषागत शुद्धीकरण र समाचार लेखनका विषयमा प्रयोगात्मक अभ्यासका साथ सघन छलफल भएको थियो ।
तालिमका स्रोत व्यक्तिकारूपमा वरिष्ठ पत्रकार तीर्थ कोइराला, कपिल काफ्ले, वबिता बस्नेत र बालकृष्ण बस्नेत तथा प्रशिक्षकहरू झविन्द्र भुसाल, दीपक खनाल, रामशरण बोहरा र सूर्य अर्याल थिए ।
भर्चुयल विधिद्वारा दैनिक चार घण्टा सञ्चालन भएको तालिममा २० भन्दाबढी जिल्लाका ३९ मिडियाकर्मीको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij