वेबटिभी खबर
काठमाडौं । पशु चौपाया खरिद बिक्रीका लागि ढुवानी गरेर एक ठाउँबाट अर्काे ठाउँ लैजाने क्रममा मधेस प्रदेशको प्रहरीले अवरोध गरेर दुःख दिएको व्यवसायीले गुनासो गरेका छन् ।
गत जेठ १८ गतेदेखि मधेस प्रदेश प्रहरीले सर्लाहीबाट चौपाया लोड गरेर पूर्वतर्फ लैजाँदै गर्दा सिरहा जिल्लाको बन्दीपुरबाट फर्काइदिएको थियो । त्यसयता प्रहरीले चाैपया ढुवानी गर्न दिएकाे छैन् । घरेलु तथा साना उद्योग कार्यालयबाट गोरु, भैँसी, राँगा र खसीलगायतका चौपाया खरिद बिक्री गर्न फर्म दर्ता गरेर काम गरिरहेका व्यवसायीले विना कारण प्रहरीले दुःख दिएको हो ।
प्रहरीले खरिद बिक्रीमा विना कारण लगातार अवरोध गरेपछि व्यवसायीले उच्च अदालतमा जनकपुरमा निषेधाज्ञाको रिट दिएका थिए । रिटमा सुनवाई गर्दै उच्च अदालतले यही असार ७ गते निवेदकलाई गोरु, राँगा, भैँसी, खसी खरिद बिक्री गरी ओसार पसार गर्न अवरोध नगर्नु भनी अन्तरीमा आदेश जारी गरेको थियो । अदालतले अन्तरीम आदेश जारी गरे पनि प्रहरीले माथिको आदेश भन्दै चौपाया ढुवानीमा रोक लगाएको व्यवासायीले बताएका छन् ।
सर्लाहीको बरहथवा नगरपालिका–६ मा कार्यालय रहेको चौपाया खरिद बिक्री केन्द्रका संचालक नीरजकुमार सिंहले कुनै कारण नै नबताइकन प्रहरीले चौपाया लोड गरेको सवारीलाई गन्तव्यमा पुग्न नदिइ फर्काउने गरेको बताए ।
‘गएको जेठ १८ गतेदेखि हामीलाई व्यवासाय गर्न दिइएको छैन,’ उनले भने, ‘सबै काम कानुनबमोजिम गरेका छौं । किन रोकेको हो भन्ने नखुलाइकन हामीलाई व्यवसाय गर्न अवरोध भइरहेको छ ।’ मधेस प्रदेश र प्रदेश १ मा व्यापार गर्दै आएको सिंहको कम्पनीलाई मधेस प्रदेश प्रहरीले अवरोध गरेको हो । पशु चौपाया ढुवानीमा तोकिएका सबै मापदण्ड पुरा गरेको सिंहले दावी गरे ।
अदालतले व्यवसायमा आवरोध नगर्नु भनेर अन्तरीमा आदेश जारी गरेपछि पनि अवरोध भइरहेपछि व्यवसायी अहिले गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालय धाइरहेका छन् । ‘माथिको आदेश भन्दै प्रहरीले निरन्तर अवरोध गरेपछि हामी गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयमा निवेदन दिएर व्यवसाय गर्न पाउने वातावरण बनाउनका लागि हार गुहार गरिरहेका छौं,’ सिंहले भने, ‘तर, टालटुले जवाफ दिएर हामीलाई अलमल्याउने प्रयास भइरहेको छ ।’
ओसार पसार र बिक्री वितरणमा अवरोध हुँदा व्यवसायीले खरिद गरेका चौपाया एक महिनादेखि दाना पानी खुवाएर पाल्नु परेको छ । चौपाया खरिद बिक्री निर्वाध हुन्छ भनेर पशु हाटबजार लाखौंमा ठेक्का लिएका व्यवसायी पनि यसको मारमा परेका छन् । मधेसका हाटमा गोरु, राँगा, भैँसी र खसीहरु किनबेच हुनै छाडेको सिंहले बताए ।
‘कानुन बमोजिम गरेको काम रोकिनु भएन भन्ने मात्र हाम्रो माग हो,’ सिंहले भने, ‘कर तिरेर, कम्पनी दर्ता गरेर काम गर्दा पनि अवरोध भएपछि व्यवसायी त सडकमा आउँछ । यसमा त सरकारले सहयोग गर्नु पर्ने हो । हामीले त्यो सहयोग पाउन नसकेर मन्त्रालय गुहार्दै हिड्नु परेको छ ।’ पशु हाटबजारकाे सांकेतिक तस्बिर
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij