वेबटिभी खबर
काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक वर्षको ११ महिनाको आयात निर्यातसम्बन्धी विवरणानुसार जेठ मसान्तसम्म मुलुकमा १३ लाख २ हजार १९५ किलो चुइगम आयात भएको छ ।
यो अवधिमा चुइगम आयातका लागि मात्रै झण्डै ४१ करोड बराबरको लगानी गरिएको छ । विभागका अनुसार सो परिमाणको चुइगम आयात गर्न मुलुकबाट ४० करोड ८४ लाख ६७ हजार रकम बाहिरिएको छ ।
नेपालमा विशेष गरी, चीन, भारत र युरोपेली देशबाट चुइगम आयात हुने गरेको छ । त्यस्तै यस अवधिमा चकलेट र यससँग सम्बन्धित वस्तु आयातमा २ अर्ब ८३ करोड ८८ लाख ८१ हजार बराबरको रकम बाहिरिएको छ ।
११ महिनाका अवधिमा ८० लाख ६१ हजार ६३६ किलो चकलेट र चकलेट बनाउन प्रयोग हुने कच्चा सामग्री आयात भएको छ । यस्तै कुरकुरे, कुरमुरे, लेज, चिजबल्स जस्ता खानेकुराको आयातसमेत करोडौंमा हुने गरेको छ ।
चालु आवको पहिलो ११ महिनामा १४ लाख २४ हजार ३६९ किलो बराबरको त्यस्ता खानेकुरा आयात भएको छ । त्यसका लागि मात्रै मुलुकबाट ६६ करोड ६५ लाख २५ हजार बराबरको रकम बाहिरिएको हाे ।
यस अवधिमा बिस्कुटजस्ता खानेकुराको आयातमासमेत अर्बौं रकम विदेशिने गरेको देखिन्छ । चालु आवको जेठ मसान्तसम्म १ अर्ब ३७ लाखभन्दा बढीका बिस्कुट आयात भएको छ ।
यस्तै पापड १९ करोड ९४ लाख, मकैको खानेकुरा (कर्नफ्लेक्स) १८ करोड ४९ लाखमा आयात भएको विवरण छ । विदेशी मुद्राको सञ्चिति ओरालो लागेको बेला अनावश्यक ठानिएका यस्ता वस्तुको तत्काल आयात प्रतिबन्ध लगाउनुपर्ने माग पनि उठेको छ ।
यी सामग्री अत्यावश्यक पनि नभएकाले सरकारले सामान्यरूपमा कडाइ गर्नेबित्तिकै नियन्त्रण भइहाल्ने सरोकारवालाको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij