वेबटिभी खबर
काठमाडौं । सांसदहरूले रणनीतिक साझेदारी कार्यक्रम (एसपीपी) ले नेपालमा पर्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनीहरूले नेपालमा अन्तर्राष्ट्रिय हस्तक्षेप हुन नदिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले अहिले स्वाधिनताको विषयमा गम्भीर प्रश्न उठेको बताए । नेपालको घोषित परराष्ट्रनीतिमा सार्वभौमसत्ता, भौगोलिक अखण्डता, असङ्लग्ननीति र स्वतन्त्र परराष्ट्रनीति उल्लेख रहेको उनले बताए । सन्तुलित कुटनीतिमा विचलन आउँदा शक्ति राष्ट्रहरू कुनैले पक्षमा र अर्कोको विरोधमा प्रयोग गर्न खोजेको उनको भनाइ छ ।
अहिले एसपीपीका कारण राष्ट्रमाथि गम्भीर खतरा हुने सांसद श्रेष्ठले बताए । एमसीसीको चर्चा हुँदा नागरिकले यसलाई विकास परियोजना होइन हिन्द प्रशान्त रणनीति हो भनेको र आफ्नो पार्टीले पनि यथास्थितिमा स्वीकार नगरौँ भनेको उनले बताए । पार्टीसमेतले सहभागीतामा एमसीसी व्याख्यासहित पास गर्ने भने पनि व्यवहारमा त्यो नदेखिएको उनको भनाइ छ ।
नेपाललाई केन्द्रमा राखेर कुनै देशप्रति ‘प्रो’ बन्न नहुने र राष्ट्रहित केन्द्रीत स्वतन्त्र परराष्ट्र नीति अबलम्वन गरिनु पर्नेमा सांसद श्रेष्ठको जोड छ । सन्तुलित कुटनीति अबलम्वन गर्नुपर्ने र निजी स्वार्थका लागि राष्ट्रिय हित तिलाञ्जली दिन नहुने उनको भनाइ छ । देश कसैको पक्षमा प्रयोग हुन दिन नहुने, छिमेकी नीति अबलम्वन गर्नुपर्ने र दुवै छिमेकीसँग समनिकटताका आधारमा सम्बन्ध राख्नुपर्नेमा उनको जोड छ ।
सांसद् तुलप्रसाद विश्वकर्माले एसपीपी अमेरिकाले यस अघि नेपालले स्वीकार गरिसकेको र अब सम्झौता गर्न नपर्ने दाबी गरेको तथा सेनाबाट सम्झौता नगरेको बताएकाले वास्तविकताबारे सरकारले सदनमा स्पष्ट गर्नुपर्ने बताए ।
सांसद जितेन्द्रनारायण देवले प्रधानमन्त्रीको अमेरिका भ्रमणले दुई देशको सम्बन्ध सुमधुर बनाउने विश्वास व्यक्त गरे । सांसद् भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री र प्रधानसेनापति अमेरिका जाँदा सम्झौतामा हस्ताक्षर हुँदैछ भनेर जनस्तरमा आक्रोस र चिन्ता रहेको बताए ।
नेपाली कांग्रेसकी सांसद दुर्गा गुरुङले रूस र युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय रूपमा मलको अभाव रहेकाले यस वर्ष अझै बढी समस्या हुने देखिएको बताइन् ।
सांसद देवेन्द्र दाहालले समाजवादको कुरा संविधानमा उल्लेख भए पनि सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रमको आधार विन्दु समाजवादको नभएको उल्लेख गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij