वेबटिभी खबर
भक्तपुर । भक्तपुर नगरपालिकाको सल्लाघारीस्थित अक्सफोर्ड स्कुलमा अध्ययन गर्दै आएका विद्यार्थीले आज सल्लाघारी क्षेत्रको सडक तथा सम्पदामा सरसफाइ गरेका छन् ।उनीहरूले यस क्षेत्रमा रहेका नाला, पाटी, ढुङ्गेधारा, मन्दिरलगायतमा रहेको फोहोर सफा गरेका हुन् ।
विद्यालयले पढाइका अतिरिक्त प्रत्येक्षरूपमा सरोकार राख्ने यस्ता विषयवस्तुका क्षेत्रमा विद्यार्थी स्वयंको प्रत्येक्ष संलग्नता रहोस् र पढाइका साथै सामाजिक काममा लाग्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको विद्यालयकी शिक्षिका इन्दु दुवालले बताइन् ।
विश्व वातावरण दिवसका अवसरमा आयोजित सरसफाइ कार्यक्रममा विद्यार्थीलाई यस क्षेत्र वरपर रहेका मन्दिर, पाटीपौवा, ढुङ्गेधाराजस्ता सम्पदाको सरसफाइका साथै तिनका बारेमा जानकारी दिँदै सम्पदाको महत्व र संरक्षण गर्नुपर्ने कारणका बारेमा जानकारी दिएका छन् ।
नगरपालिकाले यहाँका विद्यालयमा यस क्षेत्रमा पर्ने सम्पदा, यहाँका परम्परा, संस्कृतिलगायत विषयवस्तु समावेश गरी पाठ्यक्रम नै बनाएर विद्यार्थीलाई सचेत बनाउन खोजेको देखिन्छ ।
सरसफाइमा सहभागी विद्यार्थीले अबदेखि आफूले सार्वजनिक ठाउँमा फोहोर नगर्ने र अरूलाई समेत गर्न हुँदैन भनेर सिकाउने बताए । सरसफाइका क्रममा वरपरका फोहोर टिप्दै त्यहाँ रहेका मानिसलाई सम्पदा वरपर फोहोर नगर्न र सरसफाइमा ध्यान दिन कक्षा ७ र ८ मा अध्ययनरत सहभागी विद्यार्थीले आग्रह गरिरहेका थिए ।
सो अवसरमा विद्यार्थीले सरसफाइका साथ वरपर वृक्षरोपणसमेत गरेका थिए । यस वर्ष विश्वमा ‘केबल एक पृथ्वी’ तथा नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा १९७४ देखि हरेक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रूपमा मनाइँदै आइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij