Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

पर्यटन प्रवर्द्धनका लागि ‘डुलुवा’ समूह भारत यात्रामा

पर्यटन प्रवर्द्धनका लागि ‘डुलुवा’ समूह भारत यात्रामा

  • 529
    SHARES
  • पर्यटन प्रवर्द्धनका लागि ‘डुलुवा’ समूह भारत यात्रामा

    पोखरा । पोखराको पर्यटन प्रवर्द्धनका लागि ‘डुलुवा’ समूह एकमहिने यात्रामा निस्केको छ । आज पत्रकार सम्मेलनमार्फत यात्राको उद्देश्यका बारेमा जानकारी दिएर सो समूहले भारतको यात्रा तय गरेको हो ।

    सुस्ताइरहेको पर्यटनलाई थप गतिशील बनाउन पोखरालगायत नेपालका प्रमुख पर्यटकीय गन्तब्यका प्रवर्द्धनात्मक सामग्री बोकेर सो टोलीले भारतको अमृतसहर, कश्मिर, कार्गिल, लदाख, मनाली, सिम्ला, देहरादुन र नैनीताल पुगेर फर्किने टोली प्रमुख योगेश भट्टराइले जानकारी दिए ।

    यात्राले फरक परिवेश संस्कार, संस्कृतिको अध्ययन गर्ने र एक अर्काबीच भाइचाराको सम्बन्ध स्थापित गर्ने भएकाले घुम्ने संस्कृतिको विकासका लागि यात्रा तय गरेको उनको भनाइ छ ।

    पहिले देश अनि विदेश भन्ने उद्देश्यसहित टोलीले यसअघि नेपालका ७० जिल्लाको यात्रा सकेर यसपटक भारतका विभिन्न स्थानको छनोट गरी यात्रा तय गरेको उनले बताए ।

    उनका अनुसार २००८ मा प्याराग्लाइडिङ व्यवसायमा आबद्व र विशेषगरी घुमघाममा रुचि राख्ने युवाको जमातले पोखरा नजिकै ताङतिङ गाउँ घुम्ने क्रममा ‘डुलुवा’ नाम जुराएसँगै अहिले यो समूह घुमघामका लागि सोही नामबाट परिचित छ ।

    अहिले सो समूह युवा लक्षित जिम्मेवार पर्यटन प्रवर्द्धनको सोचसहित जुटेको हो । यो समूहले यात्राका क्रममा सुदूरपश्चिमका विकट बस्तीमा पुगेर न्यानो कपडा, स्कुलका सामग्री वितरण गर्ने गरेको छ ।

    पत्रकार सम्मेलनमा भारतीय पेन्सन क्याम्पका पोखराका लेफ्टिनेन्ट कर्णेल शशांक त्रिपाठीले भारतका प्रसिद्व र परम्परागत, ऐतिहासिक सांस्कृतिक महत्वका स्थानको छनोट गरी यात्रा तय गरेकामा उपलब्धिमूलक यात्राको शुभकामना दिए ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले युवा जोश जाँगरसहित आफ्नो ठाउँको विकासमा जुट्नुपर्छ भन्ने सोचका युवाले पर्यटन प्रवर्द्धनका लागि देखाएको सक्रियता र गतिविधि निकै प्रशंसनीय रहेको बताए ।

    उनले पोखरा साहासिक गतिविधिको शहर भएकाले डुलुवा समूहले भारतका विभिन्न सहरमा यस क्षेत्रको साहासिक गतिविधिलाई पनि प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे ।

    नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य गणेशबहादुर भट्टराईले घुमघाम संस्कृतिले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने र नयाँ-नयाँ पर्यटकीय गन्तब्यको उजागर गर्ने बताए । पर्यटनका लागि धेरैभन्दा धेरै युवामा घुम्ने संस्कृतिको विकास गराउनुपर्ने उनको भनाइ छ ।

    समूहका अर्का सिनियर टोली प्रमुख सुनिल भट्टराइले यात्राको लक्ष्य भारतीय बजारमाझ नेपालको पर्यटनलाई प्रवर्द्धन गर्नु रहेको जनाउँदै भारतका विभिन्न ठाउँमा पत्रकार सम्मेलन गरेर प्रवर्द्धनात्मक सामग्रीसहित औपचारिक र अनौपचारिक भेटघाटलाई जोड दिइने बताए ।

    नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् लगायतको प्रवर्द्धानत्मक सहयोग गरेको डुलुवाको ‘राइड एण्ड ग्लाइड’ नामकरण गरिएको यात्राको टोलीमा ९ जना प्याराग्लाइडिङ पाइलटसहित विभिन्न पेशा व्यवसायमा आबद्व १९ युवाको सहभागिता रहेको समूहका सदस्य विकास भट्टराइले जानकारी दिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij